बागलुङमा बन्दको प्रभाव र घटनाहरु

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव बागलुङमा पनि परेको छ । बागलुङ बजारमा भएका अधिकांश पसलहरु बन्द भएका छन् भने बजार पनि सुनसान जस्तै भएको छ ।

बागलुङदेखि छोटो तथा लामो दूरीमा संचालन हुने यातायातका साधानहरु थप्प भएका छन् । गाडि ठप्प हुँदा गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु चिन्तित बनेका छन् । बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।

शिवधारा चोकमा भेटिएको शङ्कास्पद वस्तु
बागलुङ बजारको शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शिवधाराचोक स्थित होटल शितलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।

बागलुङमा यो समाचार प्रकाशन हुँदासम्म कुनै अप्रिय घटना भएको छैन । जिल्लामा अप्रिय घटना हुन नदिनको लागि जिल्ला प्रहरी कार्यालय बागलुङले घटना हुन सक्ने संभावित स्थानहरुमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । ।

बुर्तिबाङ
बुर्तिबाङ बजारमा बन्दको आंशिक प्रभाव परेको जनाईएको छ । बुर्तिबाङ बजारमा भएको पसलहरु अधिकांश खुले पनि केही मात्रामा बन्द भएका छन् । लामो दूरीका सवारी साधानहरु संचालन नभए पनि छोटो दूरीमा चल्ने सवारी साधानहरु संचालन भइरहेका छने भने वित्तिय संस्थाहरु बन्द भएका छन् ।

गलकोट
गलकोटको हटिया बजारमा पनि बन्दको प्रभाव परेको जानकारी छ । हटिया बजार बिहानैदेखि सुनसान भएको छ । अधिकांश पसलहरु बन्द भएका छन् भने यातायातका साधानहरु पूर्ण रुपमा बन्द भएका छन् । अप्रिय घटना हुन नदिन प्रहरीले कडा निगरानी राखेको छ ।