बुधबार साँझदेखि जेटका सबै उडान रोकिने, किन ?

चरम आर्थिक संकटमा परेको २५ वर्ष पुरानो भारतीय एयरलाइन्स जेट एयरवेजलाई ऋणदाताहरुले थप रकम उपलब्ध नगराउने जनाएसँगै बुधबार साँझदेखि जेटका सबै उडान रोकिने भएका छन् । 

रोयटर्सका अनुसार, जेटलाई तत्काल उडान सुचारु गर्न आपत्तकालिन कोषकालागि ४ सय करोड भारु आवश्यक थियो। तर, ऋणदातासँग बुधबार साँझ भएको संचालकहरुको बैठकमा उनीहरुले थप रकम उपलब्ध गराउन इन्कार गरेपछि जेटका सबै उडान बन्द हुने भएका हुन्।

१ सय १५ वटासम्म विमान भएको यो कम्पनीसँग बुधबार ५ वटा मात्रै जहाज थिए। भारतका ३७ वटा आन्तरिक तथा १९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको जेटको बुधबार राति अन्तिम उडान हुने भनिएको छ।

कम्पनीले ऋण चुक्ता गर्न नसकेपछी ऋणदाता र लगानीकर्ताहरुले जहाजहरु जफत गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। यसले विभिन्न वित्तिय निकायलाई ८ हजार करोड (भारु) भन्दा बढी ऋण चुक्ता गर्नुपर्ने देखिन्छ। बुधबारसम्म आपतकालिन कोषकालागि रकम नजुटेपछि बाँकि ५ वटा विमान पनि लगानीकर्ताले जफत गर्न लागेको संचारमाध्यमले जनाएका छन्।

जेटले मुम्बई र दिल्लीबाट काठमाडौंकालागि दैनिक ५ वटासम्म उडान गर्थ्यो। तर, सोमबारदेखी यसले काठमाडौंकालागि हुने सबै उडान रोकेको छ। विमानस्थलका महाप्रवन्धक राज कुमार क्षत्रीका अनुसार, बैशाख २२ गतेसम्मकालागि यसले उडान रोक्का गरेको सूचना दिएको छ।