सरस्वती टीका क्याम्पसको भवन शिलान्यास

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित सरस्वती टीका बहुमुखी क्याम्पसको निर्माणाधिन भवन शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज एक कार्यक्रमकाबीच क्याम्पस भवनको शिलान्यास गरे ।कार्यक्रममा प्रमुख जिसीले आँफूहरू राम्रो पोखरा निर्माणको अभियानमा जुटेको बताउँदै निर्माणाधिन भवनको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।भौगोलिक विकटता भएका स्थानलाई विकासका लागि समेट्दै महानगर अघि बढेको उल्लेख गर्दै उनले विकासलाई निकट ल्याउने र निकटलाई राम्रो बनाउने लक्ष्यका साथ आँफूहरू कृयाशिल भएको स्पष्ट पारे ।

पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले यस क्षेत्रमा उच्च शिक्षाको समग्र उन्नयनका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।सबैको साथ र सहयोग भएमा निर्माणाधिन भवनलाई चाँडै नै सम्पन्न गर्न सकिने उनले उल्लेख गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पीताम्बर पौडेलले सबैको साथ र सहयोगमा २०६९ सालदेखि क्याम्पस अघि बढेको बताउँदै निर्माणाधिन भवनलाई समयमा नै सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य भएको उल्लेख गरे ।क्याम्पस प्रमुख युवराज लामिछानेले हालका लागि करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष टुकराज भण्डारी, संस्थापक सदस्य केशव आचार्य, पूर्व क्याम्पस प्रमुख डिल्लीराम बराल, भोजराज आचार्य लगायतले आ आफ्ना धारणा राखे ।