त्रिविमा योग अध्ययन गर्नको लागी यस्तो छ प्रकृया

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको संस्कृत केन्द्रीय विभागले नयाँ वर्ष २०७६ को सुरुवात योगको अध्ययनबाट थालेको छ।

साठी वर्ष पुरानो देशकै पहिलो तथा ठूलो विश्वविद्यालयले प्राचीन विषयमध्येको एक योगको प्राज्ञिक अध्‍यापन गराउन थालेको हो। योगले मानिसलाई शारीरिक र मानसिक दुवैरूपमा स्वस्थ्य रहन मद्दत गर्दछ। योगका विभिन्न प्रकार हुन्छन्।

हाल प्रचलित अष्टांग योगका आठ अंग यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्। पहिलो चार अंग यम, नियम, आसन, प्राणायाम अष्टांग योगका बाहिरी पक्ष हुन्। जुन शरीरका बाह्य पक्षका साधनाका लागि हुन्। प्रत्याहार, धारणा, ध्यान र समाधि भने भित्री पक्ष हुन्। जुन आत्मचिन्तनद्वारा साधना गर्न प्रयुक्त हुन्छन्।

विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका अध्यक्ष डा.नारायणप्रसाद गौतमका अनुसार योग अध्ययनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यार्थीले कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ।

उनका अनुसार योग अध्ययन नेपाली तथा अंग्रेजी दुवै भाषामा अध्ययन अध्यापन गराइनेछ। उनले यो ६्६ महिने दुई सेमेस्टरमा रहेको बताए। योग अध्ययनका लागि विद्यार्थीले ५५ हजार रुपैयाँ विभागलाई बुझाउनुपर्नेछ।

योगको कक्षा साँझ ४ बजेदेखि तीनदेखि चार घण्टा सञ्चालन हुनेछ। उनका अनुसार त्रिविमा योग अध्ययनका कक्षा वैशाख १२ गतेबाट सञ्चालन हुनेछन्। यो सँगै प्राज्ञिक अध्ययन नभए पनि नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मीकि विद्यापीठमा योगसम्बन्धी प्रशिक्षण हुँदै आएको छ।