
बागलुङ बजारमा दुई दिनदेखि खानेपानी नआउँदा बजारबासीमा हाहाकार मच्चिएको छ ।
बजारमा आउने खानेपानीको मुहानबाट हिलो पानी आउँदा स्थानीयहरु खानेपानी लिन बजार बाहिर जानुपर्ने बाध्यता परेको छ । गत आइतबार र सोमबार धारामा धमिलो पानी आए पनि मंगलबारदेखि पानी आउन छाडेको स्थानीयहरुले गुनासो गरेका छन् ।
धारामा पानी आउन छाडेपछि बजारबासीहरु बागलुङ नगरपालिका वडा नम्बर–९ तित्याङमा पानी लिन जानेहरुको घुइँचो बढ्न थालेको छ ।
बागलुङ बजारको गुठी, बसपार्क लगायतका स्थानहरुबाट पानी भर्न जाने स्थानीयहरु घण्टौसम्म लाइनमा बसेर पानी थाप्नु पर्ने बाध्यता भएको उनीहरुले गुनासो गरे ।
यता बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले रातिमा ठूलो पानी पर्नाले मुहानबाट हिलो आउदाँ खानेपानीमा केही समस्या आएको बताए ।
प्रबन्धक शर्माले बजारमा खानेपानीको मस्यालाई ध्यानमा राख्दै दैनिक रुपमा पानी वितरण गर्न नसके पनि एक दिन बिराएर बजारमा पानी वितरण गर्ने बताए ।