बीच सडकमा
उत्तानो पछारिएको छ बुढो दौरा ।
सडक छेउको फलामे बारमा
उल्टो झुन्डिएको छ इजार फुस्किएको सुरुवाल ।
टोपीमाथि दौडीरहेका छन् करोडौं चप्पलहरु ।
बिमारी रोइरहेको छ
अस्पतालमा सुई सकिएको छ !
सुई मात्र हैन रुई पनि सकिएको छ !
आँखा फुटेको टेलिभिजन बौलाइरहेको छ
मरुभूमिमा पानीजहाज चल्यो भनेर ।
खुनी सपेराहरु
बीन बजाएर नचाइरहेछन्
कोब्रा र करेतको जुलुस !
उता सुदुर गामतिर गुराँसको हाँगामा बारुद फूल्न थालेको छ ।
हैन कति सहन्छ हो आमाको वक्षले ?
कहिले बस्छ कुर्सीमा बर्दी
र नामेट पार्छ
नाङ्गा बादशाहहरुको खोया शासन ?
जंगली हात्तीको आतङ्क
शहरी हात्तीको आतङ्क
र हात्तीहरुको आतङ्क ।




