घान्द्रुक स्थित मौलाकोट मन्दिरको विधिवत उद्घाटन

अन्नपूर्ण गाउँपालिका–१० स्थित नवनिर्मित मुगुल बराह तथा मौलाकोट मन्दिरको विधिवत रुपमा उद्घाटन भएको छ।

तीन सय वर्ष अघिको ऐतिहासिक धरोहरको रुपमा रहेको उक्त मन्दिरको चैत्र शुक्ल अष्टमीको अवसरमा विशेष कोट पूजासहित मौलाकोट मन्दिरका जग्गादाता कणेर्ल जगबहादुर गुरुङले उद्घाटन गरेका हुन्।

स्थानीय जनसहयोग तथा मन्दिर पुनःनिर्माण समिति संयोजकद्वय पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता टेकबहादुर गुरुङ र नयाँसडक सुधार समिति पोखराका अध्यक्ष नन्दाकुमारी गुरुङसहितको सक्रियतामा मन्दिर पुनःनिर्माण भएको हो।


त्यस अवसरमा आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै उद्घाटन समारोहका अध्यक्ष एवम् मुगुल बराह तथा मौलाकोट घान्द्रुक कोट गाउँ मन्दिर पुनःनिर्माण समितिका संयोजक टेकबहादुर गुरुङले मन्दिर पुनःनिर्माणमा ४८ लाख १८ हजार एक सय ५२ रुपैयाँ संकलन भएको र शनिवारसम्म करिब ४० लाख रुपैयाँ खर्च भएको जानकारी दिए।

१७३२ सालमा घण्टा चढाएको प्रमाण रहेको उक्त ऐतिहासिक मन्दिरको उद्घाटन अघि मन्दिर परिसरबाट बाजागाजासहित निस्केको कलश यात्राले घान्द्रुकका सात गाउँ परिक्रमा गरेको थियो।यसैगरी परम्परागत मालश्री गाउनुका साथै स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए।