पोखरामा पनि मनाइयो सिरुवा पर्व

नव वर्षको आगमनसँगै पूर्वी तराईका जिल्लामा मनाइने सिरुवा पर्व पोखरामा बस्दै गरेका मिथिलावासीले धार्मिक एवं सांस्कृतिक विधिपूर्वक मनाएका छन् ।
यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिएको हो । परिवारका ठूलाबडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउकामा राखेर आशीर्वाद दिने गर्छन् ।

वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नू र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नू’ भनेर आशीर्वचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो ।

खासगरी तराईका ग्रामीण क्षेत्रमा अग्रजहरूले जलले भरिएका लोटा बोकेर टोल–टोलमा घुमेर आशीर्वाद दिने गर्छन् । पोखरामा मैथिल अल्पसंख्यक भए पनि उत्साहका साथ आफ्ना धार्मिक एवं सांस्कृतिक पर्व मनाउँदै आइरहेको सप्तरीका ललनकुमार झाले बताए ।

कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वका रूपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीका रूपमा गहुँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो ।

वैशाख महीनामा हावाहुरी चल्ने र वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रूपमा पानी हाल्नुपर्ने हुन्छ मानिसहरू सूर्यको तापबाट तुलसीको बोटलाई जोगाउनका १ महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् । बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुण्ड्याइन्छ ।

सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि थोपा–थोपा सो कुशको माध्यमबाट बोटमाथि चुहिने गरिन्छ । वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ ।

यसका साथै इनार र नालाको सरसफाइ गर्दै एक अर्कासँग हिलो छ्याप्दै पर्व मनाउनु यसको अर्को मुख्य विशेषता हो । यो पर्व मनाउनमा खासगरी महिलाहरू तुलनात्मक रूपमा बढी खुशी हुने गरेकोे देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खाना पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरू बढी खुशी देखिएको हो ।

घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका बासी भात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रूपमा पर्वको शुभारम्भ हुन्छ । यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्यमा खानुपर्ने हुन्छ । यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउन पाइन्छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम छ ।