
चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ ।
सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शौचालय बनाइदिन लागेको हो । पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा एक चिनियाँ शिविरमा राखिने छ ।
पर्वतारोहीको संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेको छ। ठूलो धनराशी खर्च गरेर सगरमाथा चढ्न पुग्ने पर्वतारोहीले फोहोर व्यवस्थापनमा भने खासै चासो नदिने गरेको पाइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको अहिलेको सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउन लागेको हो । तिब्बती पर्वतारोहण एसोसिएशनका उपमहासचिव पेमा टिनलीका अनुसार सगरमाथामा राखिने शौचालयमा मानव शौच जम्मा गरिने र भरिएपछि पर्वतको तल ल्याइनेछ ।
सगरमाथामा राखिने यो शौचालय अस्थायी रहने र पर्वतारोहणको सिजन समाप्त भएलगत्तै हटाइने बताईएको छ ।