जुडो ओलम्पियन फुपू २०२० सम्म प्रतिबन्धित

ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो ।


सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी फुपूले त्यसको केहि महिनापछि रियो ओलम्पिकमा पूरै ४ मिनेट समय खेल्दै जुडोमा नयाँ इतिहास थिईन। पछिल्लो ३ वर्ष जुडोको ६३ केजी तौल समूहमा एकल वर्चस्व जमाएकी फुपूले आठौं राष्ट्रिय खेलकुदमा भने प्रतिस्पर्धा गरिनन् । यसको बारेमा जुडो संघका अध्यक्षसँग प्रश्न गर्दा उनले फूपुलाई प्रतिबन्ध लगाएको बताए ।

गतवर्ष ओलम्पिक सोलिडारिटी छात्रवृत्तिअन्तर्गत जापान प्रशिक्षण गर्न पुगेकी फुपू त्यहाँ रहेर प्रशिक्षण गर्न नसकेपछि स्वदेश फर्किएकी थिइन् । उनले त्यहाँ रहँदाको कठिनाई संघ र ओलम्पिक कमिटिलाई जानकारी दिएपनि दुवै तर्फबाट उचित समन्वय नहुँदा फुपू आफैं स्वदेश फर्कन बाध्य भएको प्रतिक्रिया दिएकी छिन ।

फुपू नेपाल फर्किएलगत्तै जुडो संघले उनलाई स्पष्टिकरण माग गर्यो । ओलम्पिक कमिटिको आदेशमा जुडो संघले स्पष्टिकरण माग गर्ने आवश्यक प्रक्रिया अगाडी बढाएको थियो । फूपुले भनेकै समयमा स्पष्टिकरण दिएकी थिइन् । उनले अहिलेसम्म लिखित रुपमा कारवाहीबारे केहि जानकारी नपाएको बताइन् ।

आठौंमा खेल्न नपाउँदा घरमा रहेरै प्रशिक्षणमा व्यस्त फूपुले एक खेलाडीको जीवनमा खेल्न नपाउनुभन्दा ठूलो दुख नहुने रहेछ भन्दै गुनासो ब्यक्त गरिन। अहिले सबै आठौंमा प्रतिस्पर्धा गरिरहँदा घरमै बस्न बाध्य भएकी छिन ।

यता संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य भने फुपूले ओलम्पिक छात्रवृत्तिजस्तो अवसरलाई सम्मान गर्न नसकेको र संघ र समग्र नेपाली खेलकुदकै शीर निहुराएको कारण प्रतिबन्ध लगाएको बताए ।