कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ स्थित रिभान ग्रामीण सडक सञ्चालनमा आएको छ । २०७२ सालमा ट्रयाक खोलिएको पातीखोलादेखि रिभान हुँदै पुरानो रिभानसम्मको करिब ७ किलोमिटरको उक्त सडक शनिबारदेखि सञ्चालनमा आएको हो ।
सडक सञ्चालनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले पुरानो रिभान गाउँ पुनःस्र्थापना गर्नुपर्नेमा जोड दिए। साथै उनले ‘सुखी नेपाली, समृद्घ नेपाल’ को नारा आत्मसात गर्न जरुरी भएको औँल्याउँदै अबको समृद्घि उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए ।
सदस्य बरालले इमान गुरुङले कृषि क्षेत्रमा देखाएको त्याग अनि समर्पणबाट सबै नेपालीले पाठ सिक्नुपर्ने भन्दै पुरानो रिभान क्षेत्रमा कृषि फार्म संचालन गर्न सुझाव दिए । मर्दी करिडोर, थुम्का सिंचाइ, खहरेखोला पुल निर्माणमा आफूले विशेष चासो राखेको उनको भनाइ थियो।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले ग्रामीण विकासको मूल आधार सडक सञ्जाल भएको संकेत गर्दै रिभान ग्रामीण सडक स्तरोन्नति गरी बाहै्र महिना संचालन गर्न मिल्ने बनाउन गाउँपालिका तयार रहेको प्रतिबद्घता जनाए। उनले रिभानको ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह गर्दै रिभानमा कृषि र पर्यटनको प्रचूर सम्भावना भएको दावी गरे।
सडक निर्माण समिति सल्लाहकार यम गुरुङले सबै सरोकारवालाको सहयोगबाट बाटो निर्माण सम्पन्न गरिएको भन्दै रिभानमा होमस्टे संचालनमा स्थानीयले चासो दिनुपर्ने बताए। विकास निर्माणको हिसाबले रिभान गाउँपालिकाकै उपेक्षित वडा बन्न पुगेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङसँग उनले गुनासो पोखे।
कार्यक्रमबीच थाइला सब्दार देवानसिं गुरुङ कोष र इमानबहादुर गुरुङलाई तामापत्रसहित प्रदान गरियो भने २५ हजार बढी सहयोग गरेका दातालाई सम्मानपत्र प्रदान गरी सम्मान गरियो।




