सरकारले देशका हरेक बालबालिका शिक्षाको पहुँचमा ल्याउनको लागी हरेक बर्ष विभिन्न अभियानहरु सञ्चालन गरेपनि ठुलो संख्यामा विद्यालय उमेर समुहका बालबालिका भने अझै शिक्षाबाट बन्चित रहेका छन् ।
यस बर्षपनि सरकारले विद्यार्थी भर्ना अभियान कार्यक्रमको घोषणा गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले कार्यक्रम शुरुवात गरेको हो । यद्यपी यसको औपचारिक घोषणा र शुरुवाता सोमबार मात्रै हुनेछ ।
मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र ९साविकको शिक्षा विभाग०का अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन् । गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यस बर्ष ९१ हजार पुगेको हो ।
केन्द्रका प्रवक्ता दीपक शर्माका अनुसार पाँच बर्षदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्थीमध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए ।
बाँकी रहेका ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यो संख्यालाई आधार मानेर मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर भर्ना अभियान कार्यक्रम शुरु गरेको हो ।
यद्यपि यो नै आधिकारिक संख्या भने होइन । गएको वर्ष खोज पत्रकारिता केन्द्रको एउटा रिपोर्टले २ लाख बढी बालबालिका विद्यालय बाहिर रहेको देखाएको थियो । यो संख्याबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरोकारवालासँग छलफल समेत गर्नुभएको थियो ।
त्यसैले विद्यालय बाहिर रहने विद्यार्थीको संख्या यो भन्दा बढी रहेको केन्द्रका प्रवक्ता शर्माको अनुमान छ । यो वर्ष स्थानिय सरकारसंगको सहकार्यमा अभियान प्रभावकारी हुने उहाँको दावी छ ।






