फेवा ताल किनारमा आयोजित १६ औं फेवा नव वर्ष महोत्सव २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु समाज प्रथम भएको छ । आइतबार सकिएको मेलामा विभिन्न प्रतियोगिता भएका छन् । प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन् ।
क्षत्री महिला समाजले भने सान्त्वना स्थान हासिल गरेको थियो । महोत्सवकै अवसरमा आयोजित आमा समूहको प्रस्तुतिमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण आमा समूह द्वितीय र सक्षम आमा समूह तृतीय भएका छन् । गाईघाट आमा समूह भने प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
दुबै प्रतियोगितामा ३६ समूहले भाग लिएको महोत्सवका प्रचार संयोजक एवं आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले जानकारी दिए । महोत्सव अन्तर्गत नै गण्डकी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो । झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र सान्त्वना स्वरुप १० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको थियो ।
आमा समूहबीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ तथा सान्त्वना ५ हजार रुपैयाँ व्यवस्था गरिएको थियो । नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ व्यवस्था गरिएको थियो ।
भरतराज शर्मा र दोर्जे तामाङले सांस्कृतिक उपसमितिको जिम्मेवारी निर्वाह गरेका थिए । खाना, संस्कृति र संगीत भन्ने नाराका साथ आयोजित महोत्सव गत चैत २९ गतेबाट लेकसाइड स्थित कोमागाने पार्कमा सुरु भएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्देश्यसाथ यो महोत्सव आयोजना गरिएको महोत्सवको संयोजक विकल तुलाचनले बताए ।




