आज नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।
बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।
देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा रहेको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ ।
हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीस्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।
हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।
शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।
सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातोमाटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ ।




