चैत्र ३० गते २०७५

ताजा समाचार

चैत्र ३० गते २०७५

आख्यानकार अवतारमा भूपिन



कविता र निबन्धबाट नेपाली साहित्यमा स्थापित भूपिन आख्यानकार आवरणमा आएका छन् । शनिबार उनको पहिलो उपन्यास मैदारो काठमाडौंमा विमोचन भएको छ । साहित्यकार तथा राजनीतिज्ञ आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र लेखक भूपिनले मैदारोको संयुक्त विमोचन गरे ।

आहुतिले भूपीनको भाषामाथिको पकड उपन्यासले पुष्टि गर्ने बताए । भने, ‘भूपिनले सलल बग्ने भाषामा कथा भन्ने प्रयत्न गरेका छन् ।’ उनले उपन्यास पढ्दा कतै पनि रोकिनुनपर्ने अनुभव बाँडे । आहुतिले उपन्यासको राजनीतिक, सामाजिक र शैलीगत पाटोको चर्चा गरे ।
साहित्यकार नयनराज पाण्डेले चित्रकारलाई पात्रको रुपमा स्थापित गरेको सम्भवत पहिलो नेपाली आख्यान मैदारो भएको उल्लेख गरे । ‘दलितलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासमा कविता, निबन्ध र आख्यानको समिश्रण पाइन्छ’, उनले भने ।

आयुक्त अन्सारीले मैदारोमा विषयवस्तुलाई न्याय गरिएको धारणा राखिन् । ‘उपन्यासमा शैलीगत र विषयगत विविधता पाइन्छ’, उनले भनिन् । उपन्यासकार भूपिनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको बताए । ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन त्यहाँको विषयवस्तु स्थापित गराउन पनि हो’, उनले भने ।

बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले फरक फरक विषय र शैलीका साहित्यलाई पाठकसमक्ष पु¥याउन आफूहरु प्रतिबद्ध रहेको जनाए । पुस्तक बुक हिल पब्लिकेशनले प्रकाशन गरेको हो ।