कास्कीकोट चिनाउन चैते दसैं महोत्सव

पोखरा महानगरपालिका २४ कास्कीकोटलाई चिनाउन यहाँ महोत्सव सुरु भएको छ । ऐतिहासिक महत्वको कास्कीकोटलाई चिनाएर पर्यटक आकर्षित गर्न र यहाँको विकासका लागि महोत्सव आयोजना गरिएको हो । बिहीबारबाट सुरु भएको प्रथम चैते दसैं महोत्सव २०७५ औपचारिक रुपमा शुक्रबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरे ।

सभामुख अधिकारीले सिंहदरबारबाट अधिकारसँग विकृति पनि स्थानीय तहका वडासम्म पुगेकाले त्यसलाई चिर्नुपर्नेमा उनले जोड दिए । नेपालको इतिहासमा कास्कीकोटको महत्व सामरिक भए पनि त्यस अनुरुपको प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको उनले बताए । सभामुख अधिकारीले अहिले जारी समृद्धिको यात्रामा सबै प्रकारका विभेद अन्त्य गरी सबैको एकाकार प्रयास आवश्यक भएको विचार राखे ।

गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ले कृषिलाई प्रविधिसँग जोडेर गाउँहरुलाई समुन्नत बनाउनुपर्नेमा उल्लेख गरे । उनले यसको त्यागमा राजनीतिक, सामाजिकसहितको आमूल परिवर्तन भयो, त्यो वर्गले उपेक्षित महसुस गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिए । उनले भने, ‘जुन जगमा परिवर्तन सम्भव भयो, त्यो विकासको मूल प्रवाहमा सबैको अपनत्व जरुरी छ ।’

नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले विकासका मुद्धामा राजनीतिभन्दा पनि सहकार्य जरुरी भएकोमा जोड दिए । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्षसँगै कास्कीकोटमा ५० हजार पर्यटक भिœयाउन पोखरा २४ ले महोत्सव आयोजना गरेको वडाध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।

महोत्सवमा नेपालकै सर्वाधिक राशिको खुला भजन चुट्का प्रतियोगिता, कास्कीकोट स्तरीय भलिबल प्रतियोगिता, कृषि तथा हस्तकला प्रदर्शनी, रत्यौली प्रतियोगिता, खुला कविता प्रतियोगिता, म्युजिकल चियर, रस्साकसी, छेलो हान्ने, हाफ म्याराथुन प्रतियोगिता, लोपान्मुख सरुन खेलको प्रदर्शन, नौमती तथा पञ्चेबाजा प्रदर्शन, राष्ट्रिय तथा स्थानीय लोक कलाकारको प्रस्तुति, विभिन्न सांकृतिक झाँकी लगायत विविध कार्यक्रम हुँदै छन् ।

महोत्सवमा खर्च १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार हुने अनुमान छ । कास्कीकोट गुप्तकालिका मन्दिरमा वडा दसंै र चैते दसंैमा सयौं वर्षदेखि मेला लाग्ने गरेको छ ।