इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले आगलागी पीडित आफ्ना सदस्यता आर्थिक सहयोग गरेको छ । सदस्य भीमलाल भट्टराईको हलनचोकस्थित ओमन सनराइज ह्याण्डीक्राफ्ट पसलमा गत फागुन २४ गते आगलागी भएको थियो । आगलागीबाट उनको पसलमा ठूलो क्षति भएको थियो ।
एगाले बिहीबार एक कार्यक्रम आयोजना गरी भट्टराईलाई संस्थागतरुपमा ५० हजार आर्थिक सहयोग गरिएको हो । पोखरा पर्यटन परिषदका अध्यक्ष चीरञ्जीवि पोखरेल र संस्थाका अध्यक्ष शंकर भट्टराई लगायतले उक्त रकम भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पोखरेलले एगाले दुःखमा परेकाको घाउमा मल्हम लगाउने प्रयत्न गरेर सराहनीय काम गरेको बताए । उनले रकम भन्दा पनि सहायता ठूलो भएको भन्दै एगाको यस्ता रचनात्मक गतिविधि अझै गर्नुपर्ने खाँचो औंल्याए ।

आगलागी पीडित एगाका सदस्य भट्टराईले एगाको सहयोग आफूका लागि निकै महत्वपूर्ण हुने भन्दै एगाप्रति आभार प्रकट गरे ।
संस्थाका अध्यक्ष शंकरप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईन्द्र प्रसाद भण्डारीले गरेका थिए ।
उक्त अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । संस्थाका कोषाध्यक्ष गोकर्ण लम्सालका अनुसार एगाले सडक बालबालिका, अपांग बालबालिकाका साथै संस्थामा आवद्ध सदस्यको प्रत्येक सुख दुःखमा साथ दिंदै आएको छ ।




