गण्डकी विकास बैंकद्वारा छात्रवृत्ति प्रदान

पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले बिहीबार गरिव तथा जेहेन्दार ३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । पोखरा–५ स्थित बाराही माविका विद्यार्थीलाई प्रति विद्यार्थी ३ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति पाउने विद्यार्थीमा कक्षा १० मा अध्ययनरत सुस्मिता पौडेल, शिवहरि अधिकारी र कक्षा ८ मा अध्ययनरत प्रतीक्षा तामाङ छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल र प्राचार्य शिवप्रसाद भण्डारीले गण्डकी विकास बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदै गएको बताए । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्न प्रत्साहन गर्ने उद्देश्यले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग गरिएको र आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने स्पष्ट पारे ।
बैंकले ७७ शाखामार्फत देशभर सेवा प्रदान गरेको, १ हजार जनालाई रोजगारी दिएको भन्दै उनले छिट्टै ५ शाखा थप्ने तयारीमा बैंक रहेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए ।