बँदेलको आक्रमणबाट महोत्तरीमा ९ जना घाइते

महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छन् ।

गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गम्भीर घाइते घुरनीदेवी महतोलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा थप उपचारका लागि धरान रेफर गरेको घाइतेका आफन्तले जानकारी दिएका छन् । सामान्य घाइतेहरुको भने बर्दिवासस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पशुपतिनगरमा खेतीबालीमा नोक्सान पुर्‍याएपछि धपाउने क्रममा उनीहरुलाई बँदेलले आक्रमण गरेको स्थानीय अमृतकुमार महतोले जानकारी दिए । केही व्यक्तिलाई भने बँदेलले घरमै आक्रमणमा परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ ।

बँदेलले आक्रमण गर्न थालेपछि पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेसले कुनै सहयोग नगरेको भन्दै आक्रोशित स्थानीयहरुले बेसमा ढुङ्गामुढासमेत गरेका छन् ।ढुङ्गा लागेर सहायक हवल्दार अनिल झा घाइते भएका प्रहरीले जनाएको छ । जंगली बदेलको कारण बर्षेनी यस क्षेत्रका किसानले बालीनालीमा ठूलो नोक्शानी हुने गरेको छ ।