महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुग्यो

महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष (विसं २०७५०)गत अक्टुबरमा रक्त परीक्षणबाट थप एक सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिए।

सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ ।
जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५÷७६ को गत साउन यता हालसम्म रक्तपरीक्षण गर्न आएका मध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ । अस्पतालमा कूल सङ्क्रमितमध्ये ११६ महिला, ८५ पुरुष र तीन तेस्रो लिङ्गी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा राजीवकुमार झाले जानकारी दिए।

उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ । त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १३५ र पुरुष ११६ देखिन्छ ।

जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ । त्यस्तै सङ्क्रमित १९ महिलामध्ये छ सङ्क्रमित पुरुष (पति)का पत्नी रहेका परियोजनाले जनाएको छ । त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा झाको भनाइ छ ।