गोरखाको धार्चे गाउँपालिकामा सामूहिक स्याउ खेती गरिने भएको छ । धार्चेको उचाइ र हावापानी व्यावसायिक स्याउ खेतीका लागि उपर्युक्त मानिन्छ ।
गण्डकी प्रदेशको सहयोगमा भूकम्प पीडितको जीविकोपार्जनका लागि स्याउ खेती गर्न लागिएको हो । केही दिनअघि धार्चे पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले कृषकलाई विरुवा हस्तान्तरण गरी सामूहिक स्याउ खेतीको सुरुआत गरेका हुन् ।
‘भूकम्प पीडितलाई सघाउन गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रम दिएको हो’, धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङले भने, ‘पहिलो पटक परीक्षणका रुपमा स्याउ खेती गर्न लागेका छौं ।’
त्यहाँका जनतालाई व्यवसायिक स्याउ खेती गर्नका लागि २१ लाख बजेट बिनियोजन भएको छ । जसबाट १ हजार ४ सय विरुवा खरिद गरी धार्चे पु¥याइएको छ । ‘एग्रो मनाङ नामक संस्थाको प्राविधिक सहयोगमा हामीले बिरुवा सार्ने तयारी गरेका छौं’, उनले भने, ‘अहिले सबै विरुवा धार्चे ल्याइएको छ ।’
गाउँपालिकाका ७ वटै वडाका वस्तीलाई मिलाएर कृषक समूह निर्माण गरी विरुवा वितरण गर्ने तयारी छ । ती समूहले सामूहिक रुपमा स्याउ खेती गर्ने छन् । ‘गाउँटोल मिलाएर हामी समूह बनाउँछौ र ती समूहलाई विरुवा दिन्छौं’, अध्यक्ष गुरुङले भने, ‘यो परीक्षण सफल भयो भने आगामी वर्ष केन्द्र, प्रदेश र गाउँपालिकाको संयुक्त पहलमा यसलाई विस्तार गर्ने योजना छ ।’




