महोत्सवमा ८ लाखको आलु बिक्यो, दर्शक उल्लेख्य

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा शुक्रवारदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा सोमवारसम्म कुल आठ लाखको आलुको कारोवार भएको छ ।प्रतिकेजी ३२ रुपैयाँका दरले आलुको कारोवार भइरहेको झाँकी ¥याली व्यवस्थापन समितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए।

महोत्सव मध्यतिर आइरहदाँ दर्शक सहभागिता पनि बढदै गएको हो ।सुरुका दुई दिन वर्षाका कारण दर्शक सङख्यामा कमी भएपनि आइतवार र सोमवार भने दर्शकको सहभागिता बाग्लो देखिन्थ्यो । सोमवारसम्म कुल १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा(गौरव)ले जानकारी दिए ।

महोत्सवलाई सोमवार सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद रामजी वरालले कृषि पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । आलु महोत्सव हेमजाको मात्र नभएर राष्ट्रकै भएको उनको भनाई थियो । गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरद्चन्द्र श्रेष्ठले हेमजालाई नमुना कृषि गाउँ बनाउनुपर्ने तर्क गर्दै त्यसका लागि तयार रहन हेमजावासीलाई आग्रह गरे ।उनले सामुहिक र व्यवसायिक खेती प्रणाली गर्न आग्रह पनि गरेका थिए ।

त्यस अवसरमा कृषि विज्ञ बीरेन्द्रबहादुर हमाल, सम्मानित किसान पार्वती बानियाँ लगायतले पनि भनाई राखेका थिए । कार्यक्रममा बीच गण्डकी प्रदेश स्तरीय कृषि प्रर्दशनीमा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुन सफल कुल एक सय पचास जना कृषकलाई सम्मान गरिएको थियो ।

महोत्सवमा सोमवार कलाकार प्रकाश सपुत, जीवन दाहाल, शुरेसरमण अधिकारी, रामजी पौडेल, मञ्जु विक, माया गुरुङ र अञ्जु रामदामको प्रस्तुति रहेको थियो भने रत्यौली प्रतियोगिता तथा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले निरन्तरता पाएको सांस्कतिक उपसमितिका संयोजक सुर्यबहादुर कुँवरले जानकारी दिए ।

महोत्सवमा मंगलवार लोकदोहोरीतर्फ सम्झना भण्डारी, पार्वती जिसी, शंकरविरही गुरुङ, कृष्ण सुवेदी र दुर्गा क्षेत्री, हास्यतर्फ भद्रगोल टेलीफिल्मका पाँडे र जिग्री साथै अर्जुन घिमीरे र कुमार कट्टेलको प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।कृषि विकास निर्देशानलयका प्रमुख विमल थापा क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम महोत्सवका महासचिव वसन्तकुमार श्रेष्ठ संचालन गरेका थिए ।