भारतीय जनता पार्टीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहले सोमबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक गरे ।
घोषणापत्रमा गोर्खाहरुले उठाउँदै आएका दुई मुद्दालाई समावेश गरी समाधान गर्ने प्रतिवद्धता जनाएको छ। ‘गोर्खा विषयको राजनीतिक समाधान’ उपशीर्षकको २० र २१ बुँदामा गोर्खाहरूको मुद्दा समावेश गरिएको छ।
घोषणापत्रको २० औं बुँदामा भनिएको छ, ‘हामी गोर्खा समुदायका जनजाति पाउनबाट छुटेका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिनेछौं।’ त्यस्तै २१ औं बुँदामा लेखिएको छ, ‘हामी दार्जिलिङ पहाड, सिलगढ़ी तराई र डुबर्स क्षेत्रको मुद्दाको स्थायी राजनीतिक समाधान खोज्नका लागि प्रतिवद्धता जाहेर गर्छौं।’
भाजपाले सिक्किम विधान सभामा लिम्बू–तामाङ समुदायका लागि सिट आरक्षण गर्ने प्रतिवद्धता पनि जनाएको छ।
सिक्किम र दार्जिलिङको राजनीति अहिले पनि यिनै मुद्दाकै वरिपरि घुमिरहेको छ। र, यसपटकको चुनाबमा यी मुद्दाहरू प्रमुख हुन्। अहिले दार्जिलिङमा ११ जातगोष्ठी र दार्जिलिङ पहाड़को समस्याको स्थायी समाधानको मुद्दा नै चुनाउको प्रमुख मुद्दा बनेका छन्। अधिकांश मतदान पनि यसै मुद्दामा खस्ने निश्चित छ।
त्यस्तै २००३ सालमा सिक्किमका लिम्बू र तामाङ समुदायले जनजातिको मान्यता पाए तापनि अहिलेसम्म यी दुई समुदायले सिक्किम विधानसभामा आरक्षण सिट पाएका छैनन्। यसैले पनि पछिल्ला चुनाबहरूमा यो मुद्दा सिक्किमको राजनीतिमा प्रमुख मुद्दा बन्दै आएको थियो।
सिक्किममा यसै अप्रिल ११ र दार्जिलिङमा १७ मा चुनाउ हुँदैछ। सिक्किममा लोकसभा र विधानसभा दुवैको चुनाव हो भने दार्जिलिङमा भइरहेको चुनाब लोकसभाको हो।




