गर्भवती हुँदा मोटाउनु राम्रो हो त ?

गर्भवती अवस्थामा महिलाहरुको तौल केही न केही बढेकै राम्रो हुने चिकित्सकहरुले बताएका छन् । आमाको कम तौल हुनुले बच्चाको तौल पनि कम गराउने हुनाले नै यस्तो भनिएको जापानी डा. नाहो मोरिसाकी बताउँछन् ।  उनी जापानको ‘नेशनल सेन्टर फर चाइल्ड हेल्थ एण्ड डेभलपमेन्टमा सामाजिक चिकित्सा विभागमा लाइफकोर्स इपीडेमिओलोजी’ का प्रमुख हुन् ।

यसरी महिलाहरुले गर्भवती अवस्थामा पर्याप्त तौल हासिल गर्न नसक्दा उनीहरुको सन्तान सानो जन्मने र स्तनपानमा कठिनाइ हुने, रोगको खतरा बढ्ने र पछि गएर बालबालिकाको विकासमा पनि अवरोध पुग्ने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । 
त्यसैले जापानको स्वास्थ्य मन्त्रालयले महिलाहरुको ‘बडी मास इन्डेक्स’ अनुसार छुट्टाछुट्टै सङ्ख्यामा तौल बढाउन निर्देशन जारी गरेको छ ।

जापानमा सानो बच्चा जन्माउने ट्रेन्ड बढ्दै गएकाले पनि यस विषयमा पछिल्लो समय सरकारले विभिन्न प्रयास थालेको बताइएको छ ।

बडी मास इन्डेक्स, बीएमआई निकाल्न व्यक्तिको तौललाई उचाइको दुई गुणाले भाग गर्नुपर्दछ जसमा तौल किलोग्राम र उचाइ मिटरमा हुनुपर्ने हुन्छ । १८.५ देखि २४.९ सम्मको बीएमआइलाई सबैभन्दा स्वस्थ मानिन्छ जुन १८–६५ वर्षीयहरुमा लागु हुन्छ । 

यस्तोमा १८.५ वा सो भन्दा कम बीएमआई भएका महिलाले गर्भवती हुँदा ९–१२ किलो तौल बढाउनुपर्ने बताइएको छ । त्यस्तै १८.६ देखि २५ बीएमआई अर्थात ठिक्कको तौल भएकाहरुले चाहिँ ७–१२ किलो बढाउनुपर्ने हुन्छ । त्यस्तै २५–३० बीएमआई भएकाले चाहिँ सात किलो वा सो भन्दा कम तौल बढाउन आवश्यक रहेको बताइएको छ । 

तर यदि तपाईँको बीएमआई ३० भन्दा माथि छ भने चाहिँ पाँच किलो वा त्यो भन्दा कम तौल बढाउन जापानको आधिकारिक निकायको निर्देशनमा उल्लेख गरिएको छ । तर जापानमा एकदमै कम तौलका बच्चाहरु जन्मने गरेकाले पनि अन्य देशको र जापानको आधिकारिक गाइडलाइन्समा फरक पाइएको बताइएको छ । 

जस्तै अमेरिकामा भने कम तौल भएकालाई १२ देखि १८ किलो बढाउन भनिन्छ भने ठीक्कको तौल हुने गर्भवतीहरुलाई ११ देखि १६ किलो बढाउन लगाइन्छ । 

त्यस्तै पहिले नै मोटोहरुलाई चाहिँ ७ देखि ११ किलो तौल बढाउन सुझाव दिने गरिएको छ । मोटोपनाको समस्या भएकाहरुले भने ५ देखि ९ किलो बढाउनुपर्ने बताइएको छ । यसरी अमेरिकासँग तुलना गर्दा जापानका ६८ प्रतिशत महिलाले गर्भवती अवस्थामा पर्याप्त तौल बढाइरहेका छैनन् । 

यस्तोमा कम जनसङ्ख्यासँगै जापानमा कम तौलका बालबालिका जन्मने समस्या पनि व्यापक बन्दै गइरहेको छ ।  यसअघिका थुप्रै अनुसन्धानहरुले कम तौलको बच्चामा पछि गएर दिर्गकालीन रोग लाग्ने जोखिम वृद्धि हुने गरेको देखाइसकेको छ । यस्तोमा १९८० मा जन्मेकाहरु भन्दा २०१४ देखि यता जन्मने जापानी बालबालिकाहरुमा ह्दयघातका कारण हुने मृत्युको जोखिम तीन प्रतिशतले वृद्धि हुने बताइएको छ जसले जापानको औसत आयु दरमा ठूलो प्रभाव पार्ने सम्बन्धि चिन्ता व्यक्त गरिएको हो । 

हाल जापानी नागरिकहरु कम्तीमा पनि ८४.२ वर्ष बाँच्ने गरेका छन् जुन विश्वकै सबैभन्दा धेरै औसत आयु हो । 

वर्षौँसम्म जापानले सो नतिजा कायम राखेको हुँदा जापानीहरुका लागि उमेर, गर्वको कुरा रहँदै आएको थियो । त्यसैले पनि मोरिसाकीले गर्भवती महिलाहरुसँग कुराकानी गरि उनीहरुलाई यसबारेमा सचेत गराउन चाहेको बताएका हुन् ।