शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा

सरकारी स्कुलको गुणस्तर सुधार्न विभिन्न खालका प्रयास भइरहेका छन् । यसै क्रममा कास्कीको रुपा गाउँपालिकाले उदाहरणीय निर्णय गरेको छ । गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अब सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएको छ ।

गाउँपालिकाले चैत २२ देखि २४ गतेसम्म आयोजना गरेको कार्यक्रमपछि सरोकारवाला यो निर्णय गर्न सहमत भएका हुन् । कार्यक्रमपछि जारी १० बुँदे घोषणापत्रमा रुपा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा नेपाल सरकारका अन्य विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी एवम् सम्पूर्ण जनप्रतिनिधि, विव्यस र शिक्षक अभिभावक सङ्घका पदाधिकारीको छोराछोरी आफूलाई पायक पर्ने तथा उपयुक्त लागेको सामुदायिक विद्यालयमा पढाउने कुरा उल्लेख छ ।

रुपाका सबै सरकारी स्कुलमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिका भएको सकारात्मक विद्यालय व्यवस्थापन र नेतृत्व विकास तालिमपछि यस्तो घोषणापत्र जारी भउको हो । यसलाई चाडै कार्यपालिका बैठकबाट निर्णय गरी कार्यान्वयन गरिने अध्यक्ष नवराज ओझाले बताए । घोषणापत्रमा शिक्षण सिकाइको नियमित अनुगमन गर्ने, भर्ना अभियान प्रभावकारी बनाउने, प्रविधिमैत्री शिक्षा सञ्चालन गर्ने लगायतका विषय समेटिएका छन् ।

निर्णय कार्यान्वयन सबैले गर्ने अपेक्षा गर्दै उनले अटेर गर्नेलाई सेवा, सुविधामै कटौती गर्नुपर्ने अवस्था नआउने अपेक्षा गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले सबैले सामुदायिक विद्यालयमा पढाउनुपर्ने गाउँपालिकाको निर्णयले केन्द्रसम्म सकारात्मक सन्देश दिने बताए ।
कार्यक्रममा तालिमका प्रशिक्षक डा। रामचन्द्र लामिछाने, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं। ५ का वडा अध्यक्ष टेकबहादुर गुरुङ, रुपाज्योति माविका प्रधानाध्यापक मनिराम कँडेल, शिक्षा शाखा प्रमुख भोजराज न्यौपाने लगायतले बोलेका थिए ।