‘खानेपानीमा बिचौलियाको बिगबिगी’

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खानेपानी उद्योगहरुको समाजमा महत्पूर्ण भूमिका रहेको बताए । उनले उद्योगी व्यवसायीलाई नाफामा मात्र नभई उपभोक्ताको अधिकारलाई पनि ख्याल गर्न सुझाव दिए ।

उनलेउद्योगले भन्दा पनि खुद्रा पानी बिक्रेताले उपभोक्तालाई ठगेको दावी गरे । थापाले भने,‘१२ रुपैयाभन्दा कममा पाइने बोतलको पानी खुलेआम रुपमा २०,२५ र ३० रुपैयाँमा बिक्री हुने गरेको छ । पानीमापनि बिचौलियाको बिगबिगी छ ।’

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ वार्षिक साधारणसभामा थापाले पानीकै कारण मान्छेमा ६० प्रतिशतभन्दा बढी रोग लाग्ने भएकाले स्वच्छ पानी जनजनताको अधिकार भएको बताए । नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले सरकारले अहिली पनि पानी उद्योगलाई राम्रो दृष्टिले हेर्ने नगरेको दुखेसो गरे । उनले पानीको मूल्यमा एकरुपता ल्याउन केन्द्रमा छफफल भइरहेको बताए ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेश संयोजक यदुनाथ अधिकारीले गण्डकी प्रदेशमा ५०भन्दा बढी पानी उद्योग रहेको जानकारी दिए । अहिलेसम्म संघमा २७ वटा पानी उद्योग आवद्ध छन् ।नेपाल पानीमा आत्मनिर्भर भए पनि वार्षिक २०÷२५ करोडको विदेशी पानी नेपाल भित्रिने गरेको अधिकारीले बताए ।

पोखरा उद्योगबाणिज्यसंघका अध्यक्ष दामु अधिकारीले पानी उद्योग संवेदनशील भएकाले उद्योग, उपभोक्ता र सरकारले यो विषयलाई मनन गर्नुपर्ने बताए । पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले अहिले उद्योगी व्यवसायी बैंकको ब्याजदर वृद्धिले समस्यामा परेको उल्लेख गरे ।
कार्यक्रममा सुजल प्लास्टिकका सुजलश्रेष्ठले प्लास्टिकको बोटल निर्माण प्रक्रियाबारे प्रस्तुति राखे ।

दि विन्देश्वरी पानी उद्योगकका ऋषि सापकोटा, महासचिव लेखबहादुर प्रधान, कार्यक्रम संयोजक प्रेमबहादुर क्षेत्रीलगायतले पानी उद्योगमा गण्डकी प्रदेशमा १ अर्ब ५० करोडभन्दा बढी लगानी भएकाले लगानी सुरक्षित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका महासचिव लेखबहादुर प्रधान र कर्मचारी सञ्चयकोष पोखराका डिल्लीराज पौडलले पनि बोलेका थिए ।