क्षत्री समाजको तेश्रो महाधिवेशन शुरु

क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन पोखरामा शुरु भएको छ।

महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानसेनापति रुकमांगत कटुवालले क्षत्रीहरुका इतिहास, धर्म र भाषामाथि चौतर्फी प्रहार भैरहेको बताए।

‘इतिहासले, धर्मले एउटा बाटो देखाइदिएको हुन्छ। इतिहासले पाठ सिकाएको हुन्छ। भाषाले सम्पूर्ण जातजाति, भाषिक, धार्मिक रीति जोडिदिएको हुन्छ र यी तीनै कुरा भताभुङ्ग पार्ने चलखेल भइरहेको छ,’ उनले भने, ‘धन र शक्तिमा आएपछि गरीब, पीडितलाई झन् पीडा दिने दम्भ बढेको छ। त्यसविपरीत क्षत्रीहरुले सबैलाई ज्ञान, दान भोकाहरुलाई खान दिन्छन्, पीडितलाई संरक्षण गर्छन् र यो ठूलो जिम्मेवारी नेपाली क्षेत्रीहरुको काँधमा आएको छ। ’

क्षत्री समाजका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले क्षत्री समुदायलाई आदिवासी सूचीबाट हटाउनु संवैधानिक कमजोरी भएको बताए। ‘कुन शक्ति र तत्वले ‘आदिवासी’ शब्द हटाइयो, यसको जवाफ खोज्ने कि नखोज्ने?, ’ उनले भने, ‘यो देशमा कुनै पनि समुदाय आदिवासी हुँ भनेर दाबी गर्छ भने १ नम्बरका आदिम आदिवासी खस आर्य हुन्। यूरोपियन युनियनको भत्ता खाएर, सत्ता र लत्तामा रमाउनेहरु हामीलाई हेप्न पाइँदैन। ’ २०६३ को अन्तरिम संविधानमा नै आदिवासीमा सूचीकृत गरिनुपर्ने मागसहित आन्दोलन गरेको क्षत्रीहरुको माग अधुरै रहेको उनले सुनाए।

पूर्व मन्त्री एवं गण्डकी प्रदेश सांसद कुमार खड्काले क्षेत्रीहरुमा समझदारी, एकता र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा प्रदेश सांसद बिन्दुकुमार थापा, कृष्ण थापा, पुष्पा केसी भण्डारी, पोखरा महानगरका मेयर मानबहादुर जिसी, क्षेत्री समाजका उपाध्यक्ष योगेन्द्र कार्की लगायतले बोलेका थिए।महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र शुरु भइ आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। महाधिवेशनमा सहभागी हुन ५० भन्दा बढी जिल्लाका प्रतिनिधि पोखरा आएका छन्।

समाजका अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एवं महाधिवेशन प्रचार संयोजक कृष्ण थापाले गरेका थिए।उद्घाटन अघि चिप्लेढुंगाबाट निस्केको र्याली न्यूरोड, पृथ्वीचोक हुँदै नयाँबजारस्थित प्रदर्शनी केन्द्र पुगी सभामा परिणत भएको थियो।