आरोहण महाकाव्यका १३ स्रष्टालाई सम्मान

यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रबद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका स्रष्टालाई सम्मान गरिएको छ । नेपाल श्री पुरस्कार कोष हेमजा पोखरा २५ कास्कीले शनिबार आरोहण महाकाव्यका १३ स्रष्टालाई नेपाल श्री वाङ्मय सम्मान अर्पण गरेको हो ।

आरोणका स्रष्टाहरु गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईँ, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञावली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी सम्मानित भएका हुन् ।

नेपाली महाकाव्यिक क्षेत्रमा नवीनतम प्रयोगका साथ राष्ट्रिय एकता, सम्पदा र सद्भावको प्रबद्र्धन गर्ने महाकाव्य रचनामा पु¥याएको योगदानको कदर गर्दै नेपाल श्री वाङ्मय सम्मान २०७५ बाट उनीहरुलाई सम्मान गरिएको हो । उक्त कोषका संरक्षक नेपाल श्री महाकाव्यका स्रष्टा जनार्दनशरण त्रिपाठी छन् । १३ जना स्रष्टा मिलेर २० सर्गमा आरोहण महाकाव्य तयार पारेका हुन् ।
उनीहरुलाई सह प्राडा नारायणप्रसाद अधिकारी, नेपाल श्री पुरस्कार कोषका संरक्षक जनार्दनशरण त्रिपाठी, महाकाव्यकार माधव वियोगी र नेपाल श्री पुरस्कार कोषका अध्यक्ष अरुणस्त्तोम त्रिपाठीले सम्मान गरेका थिए ।

कार्यक्रममा सह प्राडा नारायणप्रसाद अधिकारीले कृतिको नामबाट पुरस्कार राखेर ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे । ‘धेरै ठाउँमा व्यक्तिको नामबाट संस्था स्थापना गरी पुरस्कार राख्ने प्रचलन रहेको छ’,उनले भने, ‘तर यहाँ भने कृतिको नामबाट पुरस्कार कोष स्थापना गर्नु यो ऐतिहासिक काम हो ।’ उनले यो सम्मानले नेपाल श्री पुरस्कार कोषको ओज झनै बढेको बताए ।
उनले भाषा संस्कृति र धर्ममा पनि भुइँचालो गएकाले यसलाई जोड््ने काम गर्न आरोहण समूहलाई आग्रह गरे । महाकाव्यकार माधव वियोगीले छन्द र महाकाव्यको सम्मान भएको बताउँदै यो सम्मानले राष्ट्र र समाजलाई सन्देश दिने धारणा राखे ।

सम्मानित स्रष्टा राजेन्द्र सुवेदीले सम्मानले भाषा, इतिहास र एकीकरणको सम्मान भएको बताए । ‘१३ जना मिलेर यो ठेली शृंखलीकरण गर्न चुनौती थियो’, उनले भने, ‘ठूलो चनौतीका बीच पनि निष्कर्षमा पुग्यो र यो महाकाव्य प्रकाशन गर्न सक्यौं ।’ देशलाई जोगाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल श्री पुरस्कार कोषका संरक्षक जनार्दनशरण त्रिपाठीले राष्ट्रिय भावनाले ओतप्रोत भएर नै आरोहणका स्रष्टालाई सम्मान गरिएको बताए । कार्यक्रममा आरोहणका स्रष्टा जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, साहित्यकार आवज शर्मा, शिव त्रिपाठी लगायतले बोलेका थिए ।