नेपालका बिदेशस्थित राजदूताबासहरू राजनीतिक कार्यकर्तालाई रोजगारी दिन हो कि मुलुकको समृ्द्धि र बिकासका लागि हुन् ? तिनको मुल्यांकन गरेर काम नहुने, गर्न नसक्ने वा औचित्य नभएकाहरूलाई खारेज गर्दै खर्च कटौती तिर कहिले लाग्ने? कतिपय मुलुकले अबैतनिक राजदूत नियुक्त गरी वा एकजना मात्र व्यक्तिलाई राजदूताबास संचालन गर्न ती मुलुकमा एउटा कोठा भाडामा लिई राजदूत नियुक्त सबै काम उ स्वयंले नै गर्ने गरी खर्च कटौति गरिरहेका छन् ।
नेपालस्थित अधिकॉश युरोपका राजदूताबासहरू भिसा पनि यहॉ काठमांडौबाट हैन दिल्लीबाट दिने गरेका छन् भने नेपालले ती देशहरूमा किन राजदूताबास राखिरहने ? राजदूतबाहेक अरू कुनै पद नराख्ने र एउटामात्र कोठामा कार्यालय राख्ने नीति बनाउनु पर्ने देखियो । राजदूत हुनेले सबै काम आफै गर्न सक्नुपर्यो , काम न सामको नेताहरूलाई फोकटमा विदेश घुमाउने काम गर्न मात्र हाकिम बन्न पठाउनुको कुनै अर्थ छैन ।
नेपालका सरकारी कार्यालयहरूले जनतालाई दु:ख दिए कमसे कम यहॉका मिडियाहरू चिच्याउछन्, र त्यसको यदाकदा केही हदसम्म सुनुवाई पनि हुने गरेको पाईन्छ । तर नेपालका बिदेशस्थित राजदूताबासहरूको दादागिरी, मनपरी, गैरजिम्मेवार व्यवहार, हाकिमगिरीका र अपहेलनाका कारण त्यहॉका नेपालीहरूले पाएको दु:ख, कष्ठ, बेईज्जति वा हेपाईको दु:खबारे बोलिदिने कोही देखिन्नन्।
राजदूताबासका राजदूत र कर्मचारीहरूबाट हेपिएका, प्रताडितहरू मनमनै नेपाली भएर यो धर्तिमा जन्मनु परेकोमा आफूलाई धिक्कारिरहन्छन्, कोसिरहन्छन्, सके त्यही विदेशी मुलुकको नागरिकता लिएर दोश्रो दर्जाको नागरिक भएर पनि बस्न समेत बाध्य हुदै तयार हुन्छन् । बिदेशी दूताबासमा बिदेशीस्केलमा तलब भत्ता सुबिधा लिने तर काम भने सिन्को नभाच्ने उल्टै नेपालीलाई नै हेप्नेहरूलाई कसरी नत्थी लगाउने होला ? यो गंभीर बिषय बनिसकेको छ ।
बिदेशमा बसोबास गर्ने नेपालीहरू किन यति सीह्रो नेपाल, नेपाली नेताहरूप्रति विद्वेष , शत्रुवत आलोचनात्मक मात्र व्यवहार गर्छन् ? यसको पछाडीको मूल कारण ती राजदूवासहरूको नेपालीप्रतिको यस्तै दुर्व्यवहार नै हुन् । सरकारको चेत खुलोस्। दलहरूले लेभी उठाउने कामका लागि कार्यकहरूर्ता पठाएर विदेशीमा रहेका नेपालीहरूलाई समेत भॉड्न राखिएका हैनन् ती राजदूताबासहरू!
लेखक नेपाल सरकारका पूर्व सचिव हुन्





