मदिरा व्यवसायी समितिको भित्तेपात्रो विमोचन

मदिरा व्यवसायी समिति कास्कीको नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ ।

भित्तेपात्रो विमोचन समितिका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीव बहादुर कोइराला, समितिका निवर्तमान अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य तारानाथ ढुंगाना, मदिरा व्यवसायी महासंघका क्षेत्रीय उपाध्यक्ष डासीराम सापकोटा लगायतले संयुक्तरुपमा गरे ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले राज्यको अर्थतन्त्रमा मदिरा व्यवसायीको भूमिका र हिस्सा ठूलो भए पनि राज्यले बेवास्ता गर्ने गरेको बताए । उनले सबै मदिरा व्यवसायी मिलेर राज्यका निकायमा दवाव दिन आवश्यक रहेको स्पष्ट पारे । मदिरा व्यवसायीले आफ्नो व्यवसाय मात्र नहेरी सामाजिक कार्यमा समेत अग्रसर बनेकोमा खुशी लागेको भन्दै यस्ता कार्यले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने खाँचो औंल्याए ।

पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा समितिका निवर्तमान अध्यक्ष तारानाथ ढुंगानाले कर र भ्याटको कुरा गरेर राज्यले व्यवसायीलाई सधैं दुःखमात्र दिने गरेको भन्दै यस्ता कार्यको डटेर सामना गर्नुपर्नेमा जोड दिए । उनले मदिरा व्यवसायीलाई परेको समस्या र पिर मर्कामा पोखरा उद्योग वाणिज्य संघले सहयोग गर्ने स्पष्ट पारे ।

उनले भने, ‘बजारमा नक्कली मदिरा भित्रिँदा आँखा चिम्म गरेर बस्ने राख्यका निकायले राज्यका कानुनका आधारमा काम गर्ने व्यवसायीलाई अनावश्यक दुःख दिन मिल्दैन ।’
ढुंगानाले थपे, ‘तपाइँ व्यवसायी मित्रहरूले आफ्नो व्यवसाय व्यवस्थित गरेर ट्याक्स र भ्याट चुस्त दुरुस्त राख्नुस् । यति गर्दा पनि राज्यका सम्बन्धित निकायले दुःख दिन खोजे भने पोखरा उद्योग वाणिज्य संघमा सम्पर्क गर्नुस् । पोउवासंघ आफ्ना सदस्य व्यवसायीलाई सबै किसिमको सहयोग गर्न तयार छ ।’

समितिका अध्यक्ष रुपनारायण भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवसायी महासंघका क्षेत्रीय उपाध्यक्ष डासीराम सापकोटा, ग्लोवल ट्रेडिङ कम्पनीका प्रतिनिधि गोविन्द ढुंगाना, समितिका वरिष्ठ उपाध्यक्ष विजयसिंह गिरी, सचिव कृष्ण रानाभाट, क्यालेण्डर प्रकाशन समिति संयोजक विराज थापा लगायतले बोलेका थिए ।