फेवा महोत्सवलाई पर्यटन संवद्ध संघ, संस्थाले सघाउने

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म हुने १६ औं फेवा नव वर्ष महोत्सवलाई सफल पार्न विभिन्न पर्यटन सम्बद्ध संघ, संस्थाले सघाउने प्रतिवद्धता गरेका छन् ।

महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले पोखराका पर्यटन सम्बद्ध विभिन्न संस्थाका अध्यक्ष र प्रतिनिधिसँग शुक्रबार आयोजना गरेको छलफलका सहभागीले महोत्सवमा सुरक्षा, सरसफाई, मूल्य नियन्त्रण, मिडिया सेन्टरमार्फत महोत्सवको समन्वय र अनुगमनको पाटोलाई बढी ध्यान दिन सुझाव दिए ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले हालै नेपालका ४ मुख्य सहरमा सञ्चालन गरेको जाउँ है पोखरा अभियान र सो अवसरमा फेवा महोत्सवका बारेमा गरिएको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी दिए । महोत्सवमा सञ्चालन गरिने गतिविधि, महोत्सवका आकर्षण र हालसम्म भएका प्रगतिबारे पनि उनले प्रकाश पारे ।

संस्कृति, खाना र संगीतको पाटोलाई केन्द्रमा राखी संघले यो पटक आयोजना गर्ने ३ दिने महोत्सवमा विभिन्न नेपाली खानाको प्रदर्शन र बिक्री, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता र गीत संगीतका कार्यक्रम समेटिएको संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए । नेपाली संस्कृति र सेफहरुको संस्थासँग सहकार्य गर्दै पकवानको पक्षलाई यो पटक महोत्सवमा बढी जोड दिइएको उनले सुनाए ।

महोत्सवको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले महोत्सवले पोखरा र वरपरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । छलफलमा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखे, अर्का पूर्व बोर्ड सदस्य अग्नि कँडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा महानगर वडा ६ का अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य हरिकृष्ण पहारी र अर्का वडा सदस्य विष्णुबहादुर भट्टराईले भनाई तथा सुझाव राखेका थिए ।

टान पश्चिमाञ्चल संघका अध्यक्ष हरि भुजेल, रेवान पोखराका अध्यक्ष भीमसेन भुजेल, बुक सप एसोसिएसनका प्रेम शर्मा पौडेल, वटेफकी उमा भण्डारी, एगाका शंकरप्रसाद भण्डारी, टेसाका रामचन्द्र गिरी र बोबरजंग गुरुङले सुझावसहित भनाइ राखेका थिए ।