शुक्रवारदेखि दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।
महोत्सवको पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काले जानकारी दिए । महोत्सव बैशाख १ गतेसम्म चल्नेछ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ ।महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहने अर्थसंकलन समितिका संयोजक मदनबहादुर थापाले जानकारी दिए ।
महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियत तथा तिन सयमा महोत्सव अवधिभर स्थानिय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।





