रोकिएन विमानस्थलबाट हुने सुन तस्करी

३३ किलो सुन तस्करी प्रकरणले विमानस्थलमा सुरक्षा सतर्कता बढाएको छ तर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने क्रम रोकिएको छैन । आज पनि विमानस्थलबाट ६ किलो सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका हुन् । उनीहरुले उक्त सुन गहनाकोरुपमा लिएर आएका थिए ।

सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाउँदा अहिलेसम्म झण्डै ५ किलो सुन सक्कली भेटिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उनको भनाइ छ । थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका छन् । बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रक्राउ परेकाहरुको नाम भने गोप्य राखिएको छ ।