गण्डकी मेडिकल कलेजविरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी परेको छ। सुनसरीका प्रितम सुवेदीले आइतबार उक्त मेडिकल कजेलका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेलविरुद्ध राजस्व चुहावटससम्बन्धी कसुमा छानविन गरी कारबाही गर्न उजुरी हालेका हुन्।
उनले सोही कलेजका दिनेश पौडेल, सिइओ सन्तोष खनाल, परीक्षा कन्ट्रोलर लक्ष्मणप्रसाद शर्मा, कर्मचारी तिलक पौडेल र स्टोर किपर कृष्ण पौडेलविरुद्ध पनि उजुरी हालेका छन्।
गण्डकी मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी रकम लिई एमबिविएसका विद्यार्थी पढाइरहेको घटना बाहिर आएपछि सरकारले छानबिन समिति समेत गठन गरेको थियो। बढी शुल्क लिएको पुष्टि भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता गरी बढी लिएको शूल्क फिर्ता गर्ने सहमति समेत भइसकेको छ। सुवेदीले सो कलेजले विगत पाँच वर्षदेखि कर छली गर्दै आएको उल्लेख गरेका छन्।




