डा.केसी हावाहुरी प्रभावितको उपचार गर्न बारा

डा. गोविन्द केसी दैवी प्रकोप तथा विपत्तीमा परेका बिरामीलाई उपचार गर्न हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्।

विगतका विपत्तीमा जस्तै डा. केसी स्वविवेकले हावाहुरीबाट घाइतेहरूको उपचार गर्न बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका छन्। उनले आफुसँग उपलब्ध स्रोत साधनका आधारमा त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्। उपलब्ध लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी रात्री बस चढेर एक्लै मंगलबार बारा पुगेका छन् ।

उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित स्थान हो।

साथमा स्थानीय स्वास्थ्यकर्मी पनि रहने डा. केसीले जानकारी गराएका छन् । हाडजोर्नी सम्बन्धी औषधि बढी उनले लिएर पुगेका छन् । कसैको चन्दा वा सहयोग विना नै उनी आफ्नो व्यक्तिगत खर्चमा हावाहुरी पीडितको उपचार गर्न बारा पुगेका छन्।

सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको थियो। करिब ५ सय घाइते रहेको गृहमन्त्रालयले जानकारी गराएको छ ।