सप्तकोसीमा सञ्चालन हुने गरी नेपालमा पहिलोपटक नेपालकै प्राविधिकहरुले जेटबोट निर्माण गरेका छन् ।मोरङको सुन्दरहरैँचाको बलियामा दुई करोड लागतका जेटबोट निर्माण भएको हो ।
जेटबोटको सप्तकोसीमा शनिबार साँझ ७ बजेपछि परीक्षण गरिएको इन्जिनियर लेखराज रिजालले बताए । मोरङबाट चतरासम्म ठूला ट्रकमा बोकेर लगिएको र क्रेनले निकालेर पानीमा सफल परीक्षण गरिएको रिजालले बताए । उनले भने, ‘नेपाली प्राविधिकले बनाएर पहिलोपटक सप्तकोसीमा चलेको जेटबोट हाम्रो भयो । हामी खुसी छौं ।’
जेटबोटलाई सगरमाथाको उचाइका नाममा ८८४८ मिटर नाम दिइएको छ । नेपाली पूँजी र प्राविधिकले बनाएको जेटबोटलाई । उक्त जेटबोटको बडीमै लेखिएको छ ‘प्राउड्ली म्यानुफ्याक्चर्ड इन नेपाल ।’ गत जेठ २२ गते दर्ता भएर सञ्चालनमा आउन लागेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले बनाएको हो जेटबोट । ३० सिटे जेटबोट निर्माणको नेतृत्व इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालले गरेका थिए । जेटबोटका नक्सांकन भने फाइनआर्टका कलाकार सुरेश चौधरीले गरेका थिए ।
सुन्दरहरैँचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जीडीएस फाइबर वल्डको सँगको सहकार्यमा जेटबोट निर्माण भएको हो । काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका खत्री र भारतबाट सोही विषय पढेका रिजालले नेपालको पहिलो जेटबोट बनाएका हुन् । जेटबोटका लेआउट, बडी र सबै संरचनाहरु नेपालमै उपलब्ध सामानहरु बाट बनाइएको हो । जेटबोटको इन्जिन र जेट भने फिनल्यान्डबाट ल्याइएको हो । फाइबर र स्टिललगायतका सामान प्रयोग गरेर बनाइएको जेटबोटमा इन्जिन र जेटमात्रै विदेशबाट ल्याउँदा पनि धेरै जोगिएको प्राविधिक बताउँछन् ।
नेपालमै जेटबोट बनाउँदा डेढ करोड जोगिने इन्जिनियर रिजाल बताउँछन् । रिजालका अनुसार इन्जिन र जेट बाहेकका जेटबोटका संरचना विदेशबाट खरिद मूल्य, यातायात र अन्य खर्च गरेर लाग्ने रकम बच्दा डेढ करोड कमै नेपाली जेटबोट तयार हुन्छ । सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिका लगानीकर्ता राजेन्द्र कार्की पनि इन्जिनियरहरुले नेपालमै जेटबोट बनाउने बताएपछि विदेशमा पूरै निर्भर नभएको बताउँछन् । आफ्नो कम्पनीमा इन्जिनियरहरुसमेत लगानीकर्ता भएकाले आफ्नो कम्पनी प्राविधिक रुपमा बलियो र आत्मनिर्भरसमेत हुने कार्कीले बताए ।




