होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथले धरान होटल एशोसिएसनसँग सहकार्यको प्रस्ताव गरेको छ । लेखनाथ एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले धरानसँग पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावमा धरान होटल एशोसिएसन सकारात्मक छ ।
लेखनाथले राखेको प्रस्तावमा आपसमा अनुभव साटासाट गर्ने, हरेक वर्ष दुवै सहरबाट एक अर्काको क्षेत्रमा भ्रमण गर्ने, व्यवसायिक विकास र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने, धरान पुगेका पर्यटकलाई लेखनाथ र लेखनाथ आएका पर्यटकलाई धरान जान सिफारिस गर्ने, दुवै ठाउँका आन्तरिक पर्यटकलाई एक अर्काकोमा जाँदा १५ प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ ।
होटल एशोसिएसन धरानका अध्यक्ष सरोज भट्टराईले लेखनाथको प्रस्ताव सकारात्मक भएको भन्दै प्रस्तावलाई कार्यसमितिमा लगेर अनुमोदन गराउने बताए । धरान होटल एशोसिएसनका पूर्व अध्यक्ष रमेश श्रेष्ठले पोखरा र पोखराका पर्यटकीय संघसस्थासंग सहकार्य गर्न आफूहरू सधैं तयार रहेको बताए ।
कार्यक्रममा लेखनाथका पर्यटन व्यवसायीले धरानवासीलाई ‘गन्तव्य बेगनास’ आग्रह गरेका छन् । बेगनासलाई अर्को लेकसाईड बनाउने उद्देश्य लिएर पूर्वाञ्चल भ्रमणमा निस्केको लेखनाथका पर्यटन व्यवसायीले गण्डकी प्रदेशको पोखरामा पर्ने लेखनाथको बेगनास तथा रुपाताल क्षेत्र पर्यटकीय हिसाबले सबैभन्दा उपयुक्त ठाउँ भएकाले बेगनासलाई गन्तव्य बनाउन आग्रह गरेका हुन् । सोमबार धरानमा आयोजित छलफलमा लेखनाथका पर्यटन व्यवसायीले पर्यटनको अथाह सम्भावना भए पनि बेगनास र रुपाताल क्षेत्र ओझेलमा परेको भन्दै रुपा तथा बेगनासमा आएर सुन्दरताको स्वाद लिन आग्रह गरे ।
भ्रमण टोली संयोजक एवं वगनास होटल तथा रेस्टुरेन्ट एशोसिएसनका पूर्व अध्यक्ष दामोदरभक्त थापाले बेगनास र रुपा क्षेत्र बत्ति मुनिको अँध्यारो भने जस्तै सुन्दर नगरी पोखरामै भएर पनि ओझेलमा परेकाले प्रचारका लागि पूर्व आएको बताए । रुपा र बेगनास क्षेत्र प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर भएको बताउँदै उनले यसलाई गन्तव्य आग्रह गरे ।

‘बेगनासलाई गन्तव्य बनाउनका लागि आफूहरूलाई पूर्वेलीको साथ चाहिएको हो’, उनले भने, ‘पोखरामा फेवाको मात्र होइन बेगनासको पनि लेकसाईड छ । हामी बेगनासताल वरपरको क्षेत्रलाई दोस्रो लेकसाईड बनाउन चाहन्छौं, त्यसका लागि हामीलाई तपाईंहरूको साथ चाहिन्छ ।’
बेगनास लगायतका प्राकृतिक सौन्दर्य रहेका स्थलको प्रवद्धन भए बृहत पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने र गण्डकी प्रदेश सरकारकै आन्तरिक भ्रमण वर्ष सफल बनाउन पनि सहयोग पुग्ने उनको भनाई थियो । पोखरा र धरान उस्तैउस्तै सहर भएको बताउँदै उनले थपे, ‘पोखरा र धरान एउटा सिक्काको दुई पाटा जस्तै हुन्, दुबै सहरले एकले अर्कालाई सहयोग र प्रवद्र्धन गर्दै अघि बढ्नुपर्छ ।’
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलियाले पोखरा भित्र पर्ने बेगनास र रुपाताल क्षेत्र अत्यन्त मनमोहक भएपनि धेरैजसो पर्यटकले त्यसको भेउ नपाउने गरेकाले प्रवद्र्धनात्मक कार्यक्रम गर्न पर्यटन वोर्डले सघाएको बताए ।
पूर्वाञ्चल भ्रमणले समग्र पोखराकै पर्यटनमा सघाउने बताउँदै उनले भने, ‘पोखरामा लेखनाथ पनि छ र ?’ भन्ने अवस्थालाई तोड्न र समग्रमा बृहत्तर पोखराकै पर्यटन प्रवद्धनमा कार्यक्रम कोशेढुंगा सावित हुने हामीले विश्वास लिएका छौं ।’
पूर्वी नेपाल आन्तरिक पर्यटनको ठूलो बजार रहेको भन्दै थपलियाले भने, ‘पूर्वी क्षेत्र आर्थिक अवस्थामा पनि बलियो छ, अनि चेतनाको स्तर पनि राम्रो भएकाले खर्च गर्ने क्षमता पनि राख्छ । त्यसैले धरान र पोखराको लेखनाथ बिच सहकार्यको आवश्यक छ ।’
गण्डकी प्रदेश सरकारले सन २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा घोषणा गरेर अगाडि बढेकाले पनि त्यही कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्धनकै लागि कार्यक्रम गरिएको उनले बताए । प्राकृतिक सून्दरता, ऐतिहासिक महत्व लगायतले महत्वपूर्ण रहेको धरानलाई प्रचार प्रसारमा रोजिएको उनले बताए । गन्तब्य बीचका व्यवसायी बीच प्रत्यक्ष र संस्थागत समन्वय हुनुपर्नेमा उनले जोड दिए ।
धरान उपमहानगरका पूर्व मेयर मनोजकुमार मेयाङ्बोले पोखरा महानगर र धरान उपमहानगर बीच विक्रम सम्वत २०५७ मा भगिनी सम्बन्ध स्थापित भए पनि बिचमा जनप्रतिनिधि नहुँदा सुस्ताएको बताए । उनले पोखरा, काठमाडौं, लुम्विनी, गुल्मी, लगायतका क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा हाइलाइट गरिए पनि पूर्वाञ्चलको प्रचारप्रसारमा पर्यटन वोर्डले बेवास्ता गर्नेगरेको गुनासो गरे ।
पर्यटकको कुरा गर्दा विगतमा आफूलाई हाँसोमा उडाउने गरेको प्रसंग कोट्याउँदै उनले हाल आएर धरानमा पर्यटकीय गतिविधि बढेको उल्लेख गरे ।
पूर्व मेयर मेयाङ्बोले पोखरा प्रकृतिले सुन्दर मनोरम छटाले भरिएको बताउँदै यसको तुलना अन्य सहरसँग तुलना र प्रतिष्पर्धा हुनै नसक्ने बताए । पोखराले पर्यटनको अवसर पाएको बताउँदै उनले भने,‘पर्यटकको मोह र स्वाद दुबै पोखराले चाखेको छ, यो अवसर पूर्वाञ्चलले कम पाएको छ, ‘यद्यपि प्राकृतिक, सास्कृतिक र ऐतिहाँसिक हरेक क्षेत्रमा पूर्वाञ्चल पनि आफैमा महत्वपूर्ण छ ।’
धरान पर्यटन बोर्ड समिति सदस्य एलिना मगरले ओझेलमा परेको लेखनाथ क्षेत्र र धरान क्षेत्रका बीचमा आगामि दिनमा सहयकार्य गरेर अघि बढ्दा दुबैलाई फाइदा पुग्ने बताईन् । लेखनाथले धरान आएर पर्यटनमा अघि बढ्न र सहकार्यका लागि झक्झकाएको भन्दै अबदेखी लेखनाथ र धरान सँगसँगै अघि बढ्नुपर्ने बताईन् ।
‘गन्तब्य बेगनास’ अभियान कार्यक्रम अन्तर्गत होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथले मंगलबार झापाको बिर्तामोडका पर्यटन व्यवसायीसँग अन्र्तक्रिया गर्नेछ ।




