विश्वले ल्याए पोखरा चिनाउने ‘रत्न’

४ दशकअघिको पोखरा कस्तो थियो, त्यसपछि विकासको यात्रामा पोखरा कसरी अघि बढ्यो ? अहिले कस्तो छ ? यी प्रश्नको उत्तरमा लामै निबन्ध लेख्न सकिन्छ तर त्यसले हामीलाई शतप्रतिशत स्पष्ट खाका दिदैन । इतिहास र वर्तमान पनि सजीव रुपमा देखाउने सबैभन्दा सशक्त माध्यम हुन् तस्विरहरु । पोखराको वर्तमान र इतिहास बुझाउने तस्विरहरु पोखरेलीका लागि अमूल्य रत्न नै हुन् । फोटो पत्रकार विश्वरत्न शाक्यले यस्तै अमूल्य रत्न सोमबार सार्वजनिक गरेका छन् ।

उनले संकलन गरेका तस्विरहरु समेटिएको पुस्तक किताब ‘पोखराः हिजो र आज’ पोखरामा सोमबार सार्वजनिक भएको छ । शाक्यले ४ दशकअघिदेखि खिचेका ४ सयभन्दा बढी तस्विर यसमा छन् । पुस्तक गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले लोकार्पण गरे । उनले पुस्तकलाई पोखरा अध्ययनको माध्यमका रुपमा परिभाषित गरे । उनले भने, ‘सही समयमा सही पुस्तक निकालेर विश्वरत्न शाक्यले जन्मभूमिप्रति गुन लगाएका छन् ।’

कुँवरले पुस्तक संग्रहनीयन रहेकोमात्र बतानन्, आफैंले त्यो प्रमाणित पनि गरे । उनले ५ प्रति पुस्तक प्रदेश प्रमुखको कार्यालयको तर्फबाट किने ।

पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उपहारका रुपमा यो किताब दिने व्यवस्था गरिने बताइन् । उनले पुस्तकले पोखरेलीलाई बाटो देखाउने उल्लेख गरिन् । उनले भनिन्, ‘पुस्तकले हिजो र आजको इतिहास बताएर भोलिको समाज कस्तो बनाउने, देश कस्तो बनाउने भन्ने मार्गनिर्देश गर्नेछ ।’

शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न, बुझ्न चाहनेका लागि किताब निकै सहयोग हुने बताए । पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले किताबमा समावेश भएका तस्विरले पोखराका विविध पक्षबारे जानकारी दिने बताए ।

फोटो पत्रकार शाक्यले ९ वर्षको कडा महेनतले पुस्तक प्रकाशन भएको बताए । उनले फोटो पत्रकार, सर्जकलाई यथार्थमा सहयोग गर्न चाहनेले कृति किन्नुपर्ने बताए । पोखराका अग्रज चिकित्सक कुमारशमशेर राणाको भनाइले पुस्तक निकाल्न निकै प्रेरणा दिएको उनले उल्लेख गरे । उनले भने, ‘डाक्टरसाहेबले म मर्नुअघि किताब निकाल यार भन्नु भो । मैले उहाँको अनुरोध पूरा गरें ।’

नेपाल पत्रकार महासंघ, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले किताब सिंगो पोखराको इतिहास र वर्तमान केलाउन सहयोगी रहेको उल्लेख गरे । उनले पुस्तक बिक्रीबाट प्राप्त हुने रकममा व्यक्तिगत रुपमा कृतिकारले रकम थप गरी नेपाल पत्रकार महासंघ कास्कीमा अक्षयकोष स्थापना गर्ने बताए । उनले भने, ‘५ लाखको अक्षयकोष स्थापना गरी फोटो पत्रकारलाई पुरस्कृत गर्ने योजना छ, सबैलाई पोखराको इतिहास सुरक्षित गर्न पुस्तक खरिद गर्न अनुरोध गर्दछु ।’

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संघ कास्की अध्यक्ष कृष्ण थापाले पनि बोलेका थिए । फोटो जेनिथले प्रकाशन गरको किताबको मूल्य ७ सय २५ रुपैंयाँ छ । यो शाक्यको २८ औं कृति हो । पुस्तकमा तस्बिर खिचेको मितिसहित नेपाली र अंग्रेजी दुबै भाषामा क्याप्सन राखिएको छ ।