नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ।
आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ। जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले आवश्यक समन्वय गर्दै आवश्यक तयारी गर्न सहमत भएका छन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न गर्न सबै निकायको प्रभावकारी भूमिका आवश्यक रहेको बताए।
उनले बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्ने बताउँदै जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि लान स्थानीय बासिन्दाले सक्रिय हुनुपर्ने औँल्याए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्केट जात्राको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै जात्रालाई शान्तिपूर्ण बनाउन सम्बन्धित सरोकारवालाले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए। प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षमा भएका कमजोरीलाई समीक्षा गर्दै आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाउने बताए।
गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनमा देखिएका कमी–कमजोरी कसैले पनि दोह¥याउन नहुनेमा सचेत रहनुपर्ने औँल्याउँदै गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने बताए। कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, विद्युत् प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्र श्रेष्ठ, स्थानीय अगुवा अनन्त धौभडेललगायतले गुठी संस्थान र भैरव नाइकेले पूजा समयमै सम्पन्न गरी जात्रा समयमै शुरु गर्न सके जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मद्दत पुग्ने बताए।
बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नपाका प्रमुख प्रजापतिको संयोजकत्वमा ११ जनाको विशेष कार्यदल गठन गर्ने, भक्तपुर नपाले माइकिङ, सूचना प्रवाह, पर्चा पम्प्लेट प्रकाशित गर्ने र नगरवासीलाई विभिन्न गतिविधिमार्फत् शान्तिपूर्ण रुपमा जात्रा सञ्चालन गर्न आग्रह गर्ने, नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने सहमति भएको छ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन लागि पर्ने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बिधत संस्थाले समयमै शान्तिपूर्ण र व्यवस्थित रुपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाले जात्रा सञ्चालन हुने क्षेत्रमा आ–आफ्ना तार तथा लठ्ठा व्यवस्थित गर्ने र भक्तपुर नपाका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, विद्यालय कलेज तथा स्थानीय जनताको व्यापक सहभागितामा –याली तथा सभा गर्ने भएका छन्।




