अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ ।शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र दुई शिक्षकसहित अन्य १७ जना घाइते भएका छन्,” सरकारका प्रान्तीय प्रवक्ता अरेफ नुरीले बताए ।
अधिकारीका अनुसार मुल्लाह नोह बाबा विद्यालयमा कक्षा चलिरहेका समय तोप आक्रमण हुँदा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र अन्य १७ जना पनि सख्त घाइते भएका छन् ।उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा पु¥याइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भन्दै मृतक सङ्ख्या बढ्नसक्ने उनले बताए।
सरकारी सुरक्षा फौज र तालिवान समूहबीच दोहोरो भिडन्त भइरहेका समय विद्यालयमा तोप आक्रमण भएको बताइएको छ । तोप कसले हानेको भन्नेबारे पुष्टि नभएको घटनास्थल वरपरका स्थानीयले बताएका छन् ।
शनिबारै अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेपछि गाज्नी शहर र वरपरका क्षेत्रमा सरकारी सेना र तालिवान लडाकूबीच भिडन्त भएको थियो । सेनाका अनुसार अहिले विद्रोही घटनास्थलबाट पछि हटिसकेको छ ।






