स्याँउ जोन मुस्ताङमा लोमान्थाङ गापा छुट्यो ,४ स्थानीयतहबाट ५१ जनाको आवेदन

स्याँउ जोन मुस्ताङमा सुचिकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अन्तर्गत मुस्ताङमा पहिलो पटक स्याँउ जोन घोषणा भएको हो ।यसअघि स्याँउ पकेट र ब्लक छनौट भएको थियो ।


परियोजना कार्यान्वयन ईकाई स्याँउ जोन कार्यालयले जिल्लाका ५ वटै स्थानीयतहका किसानलाई जोनमा सुचिकृत हुन गत पुस देखि सूचना जारीगरी जानकारी गराएको हो ।चालुवर्ष स्याँउ जोन कार्यक्रममा सूचिकृत हुनपाउँ भनी आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका किसान छन् भने,लोमान्थाङ गाउँपालिकाबाट सुचिकृतका लागि कुनैपनि आवदेन परेन ।


घरपझोङबाट ३१ जना,वारागुङ ८ जना,थासाङ ८ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ४ जना किसानले सुचिकृतका लागि आवेदन दिएको परियोजना कार्यान्वयन ईकाईका कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।उनले चालुवर्ष ५१ जनाले जोन सुचिकृतका लागि आवेदन दिएको र यसमा छुटेकालाई आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गरिने बताए ।


मुस्ताङमा स्याँउ जोन कार्यक्रम सुचिकृत गर्ने कार्य संगै परियोजनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन स्याँउ जोन संञ्चालक समिति समेत गठन भएको छ ।समितिमा सबै स्थानीयतहको प्रतिनिधित्व हुनेगरी समिति गठन भएको कार्यालयले जनाएको छ ।

घरपझोङ निवासी जयन्द्रलाल थकालीको अध्यक्षतामा ९ सदस्यीय स्याँउ जोन कार्यसमिति गठन भएको छ ।यस्तै,उपाध्यक्षमा कमला लालचन अधिकारी,सचिव बिष्णु थकाली,सहसचिव बिनोद थकाली छन् भने, सदस्यमा सरिता बिक,सोजन हिराचन,कुङ्गा तेन्जिङ गुरुङ,लाक्पाटसी गुरुङ र पासाङ गुरुङ छन् ।


स्याँउ जोन बिस्तारका लागि साना सिचाई पूर्वाधार कार्यक्रम अन्तर्गत संघीय सरकारबाट १५ लाख बजेट बिनियोजन भएको हो । परियोजना कार्यान्वयन ईकाई मुस्ताङका लागि चालुवर्ष पोष्ट हार्भेस्ट सेन्टर र कस्टम हाईरिङ सेन्टरका लागि उक्त रकम बिनियोजन भएको अधिकृत गुप्ताले जनाए ।समितिलाई जिल्लाका जोन सुचिकृत किसानलाई आवश्यक पर्ने सामाग्री तथा औजार खरिदका लागि किसान छनौटको जिम्मेवारी प्रदान गरेको गुप्ताले बताए ।


चालुवर्षकै कार्यक्रम अन्तर्गत स्याँउ जोन समितिलाई मागमा आधारित अर्को लाख बजेट बिनियोजन भएको हो ।जोनमा आवद्ध किसानले पोष्ट हार्भेष्ट सेन्टर स्थापनाका लागि संम्वन्धित र जोन व्यवसायीकरणका लागि प्रशोधनकेन्द्र गोदाम घर,ग्रेडिङ,तौलाई यन्त्र,प्रिन्टिङ प्याकेजिङ,लेवलिङ ढुवानी र बिक्रीकक्ष पूर्वाधारका साथै उत्पादन उप्रान्त उपज व्यवस्थापन र त्यसका लागि ढुवानी साधन खरिद गर्न सकिने कार्यसुचिमा उल्लेख छ ।सुचिकृत किसानले उल्लेखित सामाग्री खरिदका लागि ८५ प्रतिशत अनुदान पाउँने व्यवस्था छ ।


यस्तै,कृषि यान्त्रिकीकरण(कस्टम हाईरिङ) सामाग्री खरिदका लागि सुचिकृत किसानले ५० प्रतिशत अनुदान पाउँने छन् ।स्याँउ उत्पादन देखि भण्डार सम्म किसानलाई आवश्यक पर्ने मेशिनरी औजार तथा उपकरण खरिदमा अनुदान प्राप्त हुने कार्यालयले जनाएको छ ।मागमा आधारित ६ लाख रुपैया स्याँउमा लाग्ने बिभिन्न संक्रमण नियन्त्रणका लागि छुट्याईएको जनाईएको छ ।प्रकोप नियन्त्रणका लागि निलो तुथो,चुना,जैविक बिषादी र सर्वो आयल लगायतका औषधि खरिदमा खर्च हुँने कार्यालयको भनाई छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईका अनुसार ५ सय हेक्टरमा गरिने स्याँउ खेतिलाई जोनमा सुचिकृत गरेको हो ।यसअघि परियोजनाले सुरु गरेको स्याँउ पकेट र ब्लक जस्ता साना कार्यक्रम कृषिज्ञान केन्द्र ईकाई मार्फत संंञ्चालन हुने कृषि अधिकृत गुप्ताले जानकारी दिए ।

मुस्ताङमा गतवर्ष १२ सय हेक्टर जमिनमा स्याँउ खेति हुँदै आएकोमा चालुवर्ष ५७ हेक्टर थप जमिनमा स्याँउ खेति भएको गुप्ताले बताए ।यो वर्ष घरपझोङमा २५ सय र वारागुङमा साँढे १४ हजार स्याँउका बेर्ना लगाईएको हो ।

चालुवर्ष ५८ सय मेट्रिक टन स्याउ उत्पादन भएको हो ।मुस्ताङमा १२ सय ५७ हेक्टरमा स्याँउ खेति गरिएपनि ४ सय ५० हेक्टर जमिनमा मात्र स्याँउको उत्पादन भईरहेको कृषि अधिकृत गुप्ताको भनाई छ ।