रेडियो अन्नपूर्णको रक्तदान

- १ सय ६२ युनिट रगत संकलन

पोखराको रेडियो अन्नपूर्णले आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय ६२ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भईरहेको बेला रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रमले जोखिममा परेको कसैको जीवन जोगाउन महत्वपूर्ण सहयोग हुने क्षेत्रीय रक्तसंचार सेवा पोखराका प्रमुख ध्रुव लामिछानेले बताए ।

क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक समन्वयमा भएको कार्यक्रममा ३७ जनाले पहिलो पटक रक्तदान गरे । रक्तदानमा ५४ महिला तथा १ सय ८ पुरुष सहभागी भएको कार्यक्रम संयोजक सन्तोष बस्यालले बताए ।

कार्यक्रममा पहिलो रक्तदाता चीतवनबाट रगत दिन आएका हरि अधिकारीलाई रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले व्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।
रक्तदानका लागि संस्थागत रुपमा पोखरा क्रिकेट क्लवका निकेश श्रेष्ठको नेतृत्वमा आएका १२ जना सदस्यले रक्तदान गरेका क्लवका सदस्य सन्तोष बानियाले बताए ।

पोखरामा रगतको अभाव भईरहेको बेलामा रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रममा सहभागी भएर रक्तदान गर्न पाउँदा खुशी लागेको उनले बताए । रेडियोको बार्षिकोत्सवको अवसरमा हरेक बर्षको चैत महिनामा रगतको अभाव हुने गरेकोले आफूहरूले हरेक बर्षको तेस्रो शनिबार रक्तदान कार्यक्रम आयोजना गर्दै आएको रेडियाका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए ।

उक्त अवसरमा साईकल सिटी पोखराका जितेन्द्रमान शाक्यले ६५ औं पटक रक्तदान गरे । उनले हरेक पटक रक्तदान गरे लगत्तै १ सय किलोमिटर साईकल यात्रा गर्ने परम्परालाई यो पटक पनि जारी राखे । रक्तदान गरेर उजले पोखरा गैह्रापाटनस्थित रेडियो अन्नपूर्णको परिसरबाट दमौलीतिर लागेका थिए ।

लायन्स क्लब अफ पोखरा सेती गण्डकीले सहकार्य गरेको कार्यक्रम रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको भएको थियो ।