पोखराको ‘जनप्रिय स्कूल : विद्यार्थी र अभिभावकको रोजाइमा

पोखरा महानगरपालिका-८, सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै गएको छ । व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमका कारण जनप्रिय विद्यार्थी तथा अभिभावकको रोजाइमा परेको हो ।

साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो ।

प्राविधिक विषयको कक्षा सञ्चालनसँगै विद्यार्थी तथा अभिभावकको रोजाइँमा जनप्रिय पर्न थालेको विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिए । उनले भने, ‘विद्यालयमा हाल १ हजार ५ सय ७१ जना विद्यार्थी अध्ययनरत छन्, प्राविधिक तर्फको सिभिल इञ्जिनीयरिङका लागि प्रत्येक वर्ष ४८ जना विद्यार्थी भर्ना गर्ने गरिएको छ ।’

अन्य कक्षामा विद्यार्थी बढ्नुका साथै वर्षेनी प्राविधिक शिक्षाका लागि भर्ना हुन आउने विद्यार्थीको आकर्षण पनि बढ्दै गएको भन्दै प्रधानाध्यापक पौडेलले प्रवेश परीक्षाका आधारमा विद्यार्थी भर्ना गर्ने गरिएको जानकारी दिए । विद्यार्थीको बढ्दो चापसँगै निर्धारित ४८ कोटा बढाउने विद्यालयले तयारी गरेको छ ।

विसं २०१५ मा भानु प्राथमिक विद्यालयका रुपमा स्थापना भएको विद्यालय विसं २०२५ पछि जनप्रिय नामाकरण भएको हो । भानु प्राथमिक विद्यालयका रुपमा शुरु भए पनि विद्यालयको स्थापना मिति जनप्रिय नामाकरण पछिको विसं २०२५ लाई लिने गरिएको स्थानीय समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।

‘जनप्रिय नामाकरण भए पनि भानु प्राथमिक विद्यालयका रुपमा स्थापना भएको समयलाई स्थापना मिति कायम गर्न सके तत्कालीन समयमा विद्यालय खोल्न योगदान गर्नेको भूमिकाको पनि सम्मान हुन्थ्यो’, विसं २०२२ मा तत्कालीन भानु प्राविको विद्यार्थी समेत रहेका अध्यक्ष गिरीले भने, ‘इतिहास र समकालीन समाजको योगदान एवं भूमिकालाई हामीले विर्सन मिल्दैन ।’

विसं २०४१ देखि प्रस्तावित माविका रुपमा रही माध्यमिक हुँदै कक्षा ११ र १२ सम्मको पठनपाठन गरेको विद्यालयमा हाल व्यवस्थापन, शिक्षा तथा मानविकीमा समेत कक्षा सञ्चालन हुँदै आएका छन् । कक्षा ११ र १२ सञ्चालनका लागि विसं २०६० मा महायज्ञ सञ्चालन गरी रु ७० लाख आथिक सहयोग संकलन गरिएको थियो ।

विद्यालयले २०५० मा रजत महोत्सव सम्पन्न गरेको छ भने २०७५ माघ १० गते स्वर्ण महोत्सव सम्पन्न गरिसकेको छ । विद्यालयको करीब ७ रोपनी जग्गामा रहेका ३ वटा भवनका ४६ कोठामा अध्यापन भइरहेको जानकारी दिँदै अध्यक्ष गिरीले शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोगका साथै जनसमुदायको सहयोगबाट विद्यालय सञ्चालन भएको बताए ।

‘प्राविधिक शिक्षाका साथै गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ व्यवस्थापन समिति र विद्यालय प्रशासन प्रतिवद्ध छ’, उनले भने, ‘विद्यालयको समग्र विकासमा स्थानीय जनसमुदायले निरन्तर गरेको सहयोगका बलमा नै विद्यालय यस अवस्थासम्म आइपुगेको कुरालाई हामीले आत्मसात गरी अघि बढेका छौं ।’

प्रधानाध्यापक पौडेलका अनुसार कक्षा ९ देखि १२ मा प्राविधिक शिक्षा सिभिल इञ्जिनीयरिङका लागि मात्रै पूर्वाधार एवं भौतिक संरचना निर्माणमा झण्डै रु ५० लाखको लागत लागेको छ । प्राविधिक कक्षा सञ्चालनका लागि सरकारबाट करार सेवामा सातवटा दरबन्दी उपलब्ध भएका छन् ।

विद्यालयमा स्वीकृत दरबन्दी जम्मा ३८ रहे पनि शैक्षिक कार्यक्रम सञ्चालनका लागि ९६ जना शिक्षक तथा कर्मचारी कार्यरत भएको जानकारी दिँदै उनले जन सहयोगकै बलमा विद्यालय सञ्चालन भइरहेको बताए ।

गुणस्तरीय शिक्षाका लागि अंग्रेजी तथा नेपाली माध्यममा पढाइ भइरहेको उल्लेख गर्दै उनले गुणस्तरीयता र प्राविधिक शिक्षाका माध्यमबाट वर्षेनी विद्यार्थी संख्या थपिने क्रममा रहेको बताए ।