मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत तामेलनाडु चेन्नईका ६७ वर्षिय कन्नाप भेथिलिङ्गम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


आफ्नो श्रीमती सहित ४१ जनाको जम्बो टोली बिहिबार मुक्तिनाथ दर्शनगरी जोमसोम फर्किएका भारतिय तिर्थालु कन्नाप भेथिलिङ्गमको शुक्रबार जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।


मृतक ६७ वर्षिय कन्नाप भेथिलिङ्गम मुट रोगबाट पीडित रहेको प्रहरीको बयानमा उल्लेख छ ।मुटु रोगबाट पीडित कन्नाप भेथिलिङ्गमलाई हाईअल्टिच्युटका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मुक्तिनाथ दर्शनका लागि भारतिय टोली बिहिबार तारा एयरको जहाजमा मुस्ताङ आएका थिए ।उनीहरु बिहिबार मुक्तिनाथ दर्शन गरी जोमसोमको एक होटलमा बाँस बसेका थिए ।


उनलाई शुक्रबार बिहान मात्रै एकाएक स्वास्थ्यमा समस्या देखिएको जनाईएको छ ।मृतक कन्नाप भेथिलिङ्गमको शबलाई जिल्ला अस्पताल जोमसोममा पोस्टमार्टमका लागि राखिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।