नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरे ।

राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए ।

नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डोर्याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए ।

“गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ”, असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्रीले भने । लगानीका लागि पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उनले नेपालमा उपलब्ध अवसरको भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए ।

बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पुँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।