मृगौला पीडित तामाङद्धारा सहयोगको याचना

चितवन निवासी ३९ वर्षका एक मिर्गौला पीडितले आर्थिक सहयोगका लागि याचना गरेका छन् । कालिका नगरपालिका वडा नं. ७, बेलचौर निवासी रमेश तामाङ विगत ५ महिनादेखि निरन्तर रुपमा काठमाडौंस्थित किष्ट हस्पतालमा डायलसिस गराउँदै आएका छन् ।

बिरामी भएपछि उनी विभिन्न हस्पतालमा उपचार गराउन पुगेका थिए तर उनलाई कुन रोग लागेको हो, त्यहाँ पत्ता लग्न सकेन् । अन्त्यमा उनका दुवै मिर्गौलाले काम गर्न छोडेको पत्ता लाग्यो ।
तामाङको उपचारमा अहिलेसम्म लाखौं रुपैयाँ खर्च भइसकेको उनका छिमेकी सोमराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका तामाङको अन्य कुनै आम्दानीका स्रोत छैनन् । उनका सानासाना २ छोरी समेत छन् ।

उपचारकै क्रममा उनले लाखौं ऋण लिइसकेका छन् भने चिकित्सिकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । त्यसका लागि रु ७ लाख देखि रु.१३ लाखसम्म खर्च गर्नुपर्ने अस्पतालले जनाएको छ ।

तर रकमको अभावमा उनी मिर्गौला प्रत्यारोपण गर्न सक्ने अवस्थामा छैनन् । हाल तामाङलाई मासिक रु ७० हजारसम्मको औषधि सेवन गर्नुपर्दछ ।
मृगौला पीडित तामाङ भन्छन्, ‘सानो सानो आर्थिक सहयोग पाए मेरो ज्यान बाँच्थ्येंकी !’ बाँच्नका लागि उपचार गराउन सबै दयालु हृदय भएका मानिससँग उनले सहयोगको अपेक्षा उनले गरेका छन् ।

उनलाई सहयोग गर्न चाहनेले उनकी श्रीमती शोभा थिङ तामाङको मोबाइल नम्बर ९८११२९४४९६ मा सम्पर्क गर्न तथा ग्लोबल आइएमई बैंक चितवन टाँडी शाखामा शोभा थिङ तामाङको नाममा खाता नं. B५०७०१०००५९१६ मा रकम जम्मा गरिदिन समेत अनुरोध छ ।