मेडिसिटीले अन्तर्राष्ट्रिय उचाई पाएको छ : प्रधानमन्त्री

- नेपाली मेडिसिटी अस्पताललाई नेपालमै पहिलो पटक एनएबीएच मान्यता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मेडिसिटी अस्पताल भैंसीपाटी, ललितपुरले अन्तर्राष्ट्रिय उचाई पाएको बताएका छन् । उनले अरु क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तर प्राप्त गर्न प्रयत्न गर्न आग्रह गरे । उनले भने, उपचार र निदान दुवै पक्ष अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ । अन्तर्राष्ट्रिय मूल्यांकनमा भर पर्न सकिने विश्वासको प्रमाणपत्र हो यो ।

प्रधानमन्त्रीले अहिले सरकार समृद्धिको यात्रा रहेको जनाउँदै समृद्धिले मात्र जीवन पूरा नहुने बताए । उनले अन्तरिक र वाहय पुँजी र प्रविधिको प्रयोग गरी विकासको विकल्प नभएकोमा जोड दिए ।
मेडिसिटीले नेपालमै पहिलो पटक अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेसनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

प्रधानमन्त्री ओली, स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत सरोकारवाला उपस्थिति बुधबार आयोजित विशेष समारोहमा एनएबीएचका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. हरिश नडकर्मीले मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

अस्पतालका अध्यक्ष डा. महतोले सुखी नेपाली, समृद्ध नेपालको नारा साकार बनाउन यथासक्य प्रयास गर्ने बताए । उनले नेपाललाई दक्षिण एसियाकै स्वास्थ्य उपचार केन्द्र बनाउने लक्ष्य अनुरुप काम भइरहेको भन्दै अन्तर्राष्ट्रिय प्रमाणपत्रले हौसाल र उत्साह थपेको बताए ।

अस्पताल र स्वास्थ्यसेवा प्रदायकका लागि भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड एनएबीएच गुणस्तर परिषद्को बोर्ड हो । यसले स्वास्थ्य सेवा प्रदायक संस्थालाई मान्यता प्रदान गरी सोही अनुसार व्यवस्थित गर्न सघाउने गरेको छ ।

मेडिसिटीले राष्ट्रिय गौरवको रुपमा मुलुकमा नयाँ बेन्चमार्क कायम राख्न सफल भएको महाप्रबन्धक विजय रिमालले नेपालीको उपचारको जिम्मा मेडिसिटीले लिने बताए । यसका लागि स्वास्थ्य बिमा, सचेतना जस्ता अभियान चलाउँदै मेडिसिटी सबै उपचार नेपालमै सम्भव गराउन लागिपरेको उनले बताए ।