घुम्टेमा लालीगुराँस उत्सव

लालीगुराँस संरक्षणका लागि बागलुङमा ‘गुराँस उत्सव’ को आयोजना गरिने भएको छ । पछिल्लो समय गुराँसका वनमा सडक विस्तार तथा फँडानीले गर्दा गुराँस मासिँदै गएकाले यसको संरक्षणका लागि पर्यटन विकास केन्द्र बागलुङले नयाँ वर्ष २०७६ को अवसरमा यहाँको घुम्टे पहाडमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको हो । उत्सव चैत ३० र वैशाख १ गते हुनेछ ।

समुद्री सतहदेखि ३ हजार १ सय २० मिटरको उचाइमा रहेका तथा जिल्लाकै अग्लो पहाडको रपमा चिनिएका पर्यटकीयस्थल घुम्टेको लेकमा सो संस्थाले विगत ७ वर्षदेखि गुराँस उत्सवको आयोजना गर्दै आएका छन् ।

केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले अत्यन्त महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवर्धनमा यो उत्सवले टेवा पुर्याउने विश्वास लिएको छ । वैशाख पूर्णिमामा घुम्टेको धुरीमा रहेको शिद्ध भैरवको मन्दिर दर्शन गर्न जाने भक्तजनको घुइचो लाग्ने गर्दछ ।

उत्सवका अवसरमा अवलोकनयात्रा, कला संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’ लगायतका कार्यक्रमको आयोजना गर्नेछ ।

उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइलाजस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनीसमेत गरिने केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पर्यटन व्यवसायी राज थापाले बताए ।
चैत-वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्न थरिका गुराँसले घुम्टेको लेक राताम्मे हुन्छ । घुम्टेमा दुर्लभ मानिने सेतो लालीगुराँससमेत पाइन्छ ।

केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्न तथा संरक्षित वन क्षेत्र र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि अगाडि सारेको छ । घुम्टेको डाँडाबाट सूर्योदय र २ दर्जनभन्दा बढी हिमशृङ्खलासहित मनोरम दृश्य हेर्नका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।