शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पोखरा–८ स्थित रत्नज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई गरिएको छ । विद्यालयका कक्षा ११ मा अध्यनरत विध्यार्थीले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेका हुन् । कक्षा १२ का विद्यार्थी विद्यालयको अध्ययन पूरा गरी बिदा भएका हुन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुवराज बाँस्तोला ‘विशाल’ ले बिदाई भएका विद्यार्थीको थप शैक्षिक उज्वल भविष्यको कामना गरे । उनले शैक्षिक गुणस्तरको होडवाजी र विकास गर्ने नाममा विद्यालयले विद्यार्थीमा सैद्धान्तिक र घोकन्ते प्रवित्तिको विकास गराउनु भन्दा पनि व्यवहारिक ज्ञान र बुझेर जान्ने प्रवित्तिको विकास गर्नुपर्नेमा जोड दिए ।
विद्यालयले प्रत्येक वर्ष विद्यालयमा अध्यनरत विद्यार्थीमार्फत आफ्ना अग्रजलाई अनुजबाट बिदाई गर्ने परम्परा बसालेको भन्दै अध्यक्ष बाँस्तोलाले यो कार्य निकै सराहनीय भएको बताए ।
टुक्का जोड्दै बाँस्तोलाले भने, ‘रुखको वोक्राको महत्व त्यतिवेलासम्म रहन्छ, जतिबेलासम्म त्यसभित्र गुदी रहन्छ ।’
साथै उनले विद्यार्थीले आफ्नो रुख रुपी शरीरलाई विद्यारुपी गुणस्तरीय गुदीले भरिपूर्ण बनाउनुपर्ने खाँचो औंल्याए । उनले भने, ‘निरासावादीहरूले प्रत्येक अवसरमा समस्या देख्छन् भने आशावादीहरू अवसर देख्छन् । विद्यार्थीहरू जहिले पनि आशावादी हुनुपर्छ तर निराशावादी बन्नुहुँदैन ।’

विद्यालयका प्राचार्य तोयानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक हेमन्त अधिकारी र शैक्षिक विभाग डीन जमुना तिमिल्सिनाले विद्यार्थीको शैक्षिक उन्नयन र उज्वल भविष्यको कामना गरे ।
उक्त अवसरमा कक्षा ११ विद्यार्थीले विविध रोचक सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिमार्फत विदाई भएका विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए भने उनीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।




