भारत लुधियानाको सम्पन्न परिवारमा जन्मिएकी रमा सुदले स्वेच्छाले मातृभूमि र आफन्त छाडिन् । जसको साथ र सहयात्राका लागि त्यत्रो त्याग गरिन्, उसैले उनलाई छाडेर गएको पनि ११ वर्ष भइसक्यो । माइती र श्रीमान् दुवैतिर उनको सम्पर्क छैन । उनीहरुका सन्तान पनि छैनन्, रमा आफैं पनि मधुमेह र आँखाको रोगबाट पीडित छिन् ।
यस्तो अवस्थामा रमाको अन्तिम अभिलाषा के होला ? यही प्रश्नको उत्तर दिँदै लेखिएको उनको आत्मकथा अन्तिम अभिलाषा सोमबार सार्वजनिक भएको छ । कृति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङ र साहित्यकार चेतन कार्कीले लोकार्पण गरे । मकालु प्रकाशनले निकालेको किताबको मूल्य ७ सय ५० रुपैयाँ छ ।
उपकुलपति प्राडा गुरुङले यो आत्मकथा यथार्थपरक र हार्दिक भएको बताए । एकल र विदेशी भूमिमा महिलाको यो प्रयासले धेरैलाई प्रेरणा दिने बताए । पुस्तकको नेपाली अनुवाद गरेका साहित्यका चेतन कार्कीले रमाको कृति यथार्थपरक र प्रेरणादायी भएको बताए । उनले भने, ‘आत्मकथामा नाममा यो आत्मप्रशंसाको पुलिन्दा होइन, जीवनको यथार्थ हो ।’ रमाले हिन्दीमा लेखेको आत्मकथा कार्कीले अनुवाद गरेका हुन् ।
साहित्यकार तीर्थ श्रेष्ठले आत्मकथाका लागि चाहिने इमान्दारी र तत्वहरुका दृष्टिले कृति उत्कृष्ट भएको बताए । प्राज्ञ हरिदेवी कोइरालाले मानिसलाई भूगोलले भन्दा भावनाले जोडेको प्रमाणको रुपमा कृति आएको विचार राखिन् ।
लेखक रमा पराशरले आफ्नो अन्तिम अभिलाषा सुन्दर पोखरामै बाँकी जीवन बिताउने भएको सुनाइन् । उनले भनिन्, ‘आजसम्म जे भोगें, त्यही किताबमा छ । सही मानिसको बीचमा रहे खराब परिस्थिति पनि आउँदैन, आए पनि सामना गर्ने साथ मिल्छ ।’ यसअघि सुकून कविता सञ्चयन प्रकाशन गरिसकेकी उनको युही कविता संग्रह प्रकाशोन्मुख छ ।
समीक्षक असफल गौतमले अन्तिम अभिलाषालाई प्रेमको जीवन्त इतिहासको संज्ञा दिए । उनले भने, ‘यो भूईमा टेकेर जीवन बाच्नेहरुको कथा पनि हो ।’ मकालु प्रकाशनका प्रबन्ध निर्देशक वासुदेव ढकालले कृति अनूदीत भए पनि पढ्दा त्यस्तो नलाग्ने बताए । उनले पुस्तकभर पोखरा र पोखरेलीको आत्मीयता रहेको बताए ।
डागर स्मृति प्रतिष्ठानका सल्लाहकार धनराज आचार्यले ५८ वार्षअघि भारतमा जन्मिएकी रमाको जीवनको जीवन प्रेरणादायी भएको बताए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पराशर दम्पतीको अनौठो प्रेम कथा पठनीयमात्र नभएर मननीय पनि भएको विचार राखे ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की अध्यक्ष मोहन सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
साहित्यकार रमा प्रसारको आत्मकथा अन्तिम अभिलाषा लोकार्पण समारोहको भिडियो ।




